Shittalpati
सुपर मादी हाइड्रोको आईपीओ खुल्यो

पाल्पा, सुपर मादी हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) खुला गरेको छ । कम्पनीले सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो । अंकित मूल्य १ सयका दरले सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता आईपीओमा आवेदन खुला भएको छ । पहिलो चरणमा यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिसकेको छ ।

अहिले खुला गरेको यो आईपीओ सर्वसाधारणका लागि हो । माघ १२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि २३ माघसम्म थप हुनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आफ्नो खाता रहेको बैंकको शाखा वा अनलाइन प्रणाली ‘मेरो सेयर’ मार्फत आवेदन दिन सकिने छ । कम्पनीको आईपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update