Shittalpati
घरकर्जा ब्याजदर ९ प्रतिशतदेखि माथि

पाल्पा,घर निर्माण तथा खरीदका लागि सर्वसाधारणलाई उपलब्ध गराउने घरकर्जाको ब्याजदर वार्षिक ९ प्रतिशतभन्दा माथि पुगेको छ । वाणिज्य बैंकहरूले सर्वसाधारणलाई घरकर्जा उपलब्ध गराउदै आएका छन् । तरलताको दबाबसँगै बैंकहरूले ब्याजदर वृद्धि गरी निक्षेप संकलन गरेपछि लागत बढेर आधारदरसँगै ब्याजदर महँगो भएको हो ।

बैंकहरूले माघ महिनाका लागि प्रकाशित गरेको ब्याजदरमा घरकर्जाको वार्षिक ब्याज ९ देखि १५ दशमलव ५० प्रतिशतसम्म छ । घरकर्जामा सबैभन्दा सस्तो ब्याजदर ‘अफर’ गर्नेमा नेपाल बैंक लिमिटेड रहेको छ  । कृषि विकास बैंकले न्यूनतम ८ दशमलव ९५ प्रतिशत स्थिर ब्याजदरमा घरकर्जा उपलब्ध गराउँदै आएको छ । यस्तै स्थिर ब्याजदरको घरकर्जा योजनामा सबैभन्दा उच्च लक्ष्मी र एनआईसी एशिया बैंकले अधिकतम १५ दशमलव ९९ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । वाणिज्य बैंकहरूको कर्जाको प्रिमियम अधिकतम ६ प्रतिशतसम्म कायम गर्न नेपाल बैंकर्स संघमा भएको सहमति अनुसार ब्याजदर प्रकाशित गरिएको हो । हाल सञ्चालनमा रहेका २२ वाणिज्य बैंकमध्ये १५ ओटाले घरकर्जामा ६ प्रतिशतसम्म प्रिमियम रहेको उल्लेख गरेका छन् । नेपाल बैंकले भने सबैभन्दा कम न्यूनतम १ प्रतिशत प्रिमियममै घरकर्जा दिने बताएको छ ।

बैंकहरूले आधारदरमा प्रिमियम जोडेर ब्याजदर तोक्छन् । यी दुवै जोड्दा जसको कम हुन्छ, उसैको ब्याजदर थोरै हुन्छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले कर्जा योजनामा स्थिर र आधारदरका आधारमा परिवर्तन हुने ब्याजदर प्रकाशित गर्दै आएका छन् । स्थिर ब्याजदर योजनामा कर्जा अवधिभर एउटै ब्याजदर कायम हुन्छ । आधारदरका आधारमा लिने ब्याजदरमा भने प्रत्येक त्रैमासमा आधारदर बढ्दा ब्याजदर बढ्ने र घट्दा घट्ने हुन्छ । आधारदरमा बैंकहरूले जोड्ने प्रिमियम कर्जा स्वीकृत गर्दा तय हुन्छ र यो परिवर्तन गर्न पाइँदैन ।

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update