Shittalpati
अर्थतन्त्रको इटा : विजुलीको निर्यात

नेपालमा उत्पादित विजुली भारत निर्यात भइरहेको छ । अहिले त्यहाँबाट राम्रै आम्दानी समेत हुँदै आएको छ । यसले नेपाली अर्थतन्त्रमा एउटा इटा थप्ने काम गरेको छ । नेपाल विद्युत प्राधिकरणले विजुली अहिले भारतमा विक्री गर्दै आएको छ । प्राधिकरणले गत जेठ तेस्रो हप्तादेखि यही पुस ३ सम्म ११ अर्ब १६ करोड ३० लाखको बिजुली निर्यात गरिसकेको छ । यो अत्यन्त सकरात्मक हो । यसले सुस्ताएको नेपाली अर्थतन्त्रलाई केही भएर पनि आशाको सञ्चार भने गराएको छ । यसबाट मुलुकको वैदेशिक मुद्राको सञ्चिति बढाउनमा समेत ठूूलो योगदान पुगेको छ । केही समय अघिसम्म देशव्यापी लोडसेडिङको मारमा रहेको मुलुक अहिले लोडसेडिङमुक्त मात्र भएको छैन, उत्पादित विद्युत निर्यात गरी आम्दानी गर्न थाल्नु सकरात्मक हो । चुलिँदै गएको व्यापार घाटालाई न्यूनीकरण गर्दै विदेशी मुद्राको सञ्चितिमा यसले ठूलो टेवा पुर्‍याउने आशा गरिएको छ । यसबाट मुलुकभित्र उत्पादन र उत्पादकत्वको मात्रामा वृद्धि हुने र समग्र देशको आर्थिक रूपान्तरणमा समेत यस क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । उर्जा देश विकासको आधार हो । त्यसैले नेपाललाई बढी भन्दा बढी विद्युतीय ऊर्जा चाहिएको छ ।

मुलुक जति आर्थिक समृद्धिको बाटोमा अघि बढ्दै जान्छ त्यति नै प्रतिव्यक्ति विद्युत खपत पनि बढ्दै जान्छ । विगतमा विद्युत आपूर्ति नियमित नहुँदा ऊर्जाको अन्य विकल्पमा जानुपर्ने बाध्यता थियो । तर, अहिले प्रशस्त विद्युत उत्पादन हुँदा हिउँदमा बाहेक अन्य समयमा विद्युत निर्यात शुरू भएको अवस्था छ । ऊर्जा क्षेत्रमा प्राप्त भएको यो प्रगति निजी क्षेत्रको लगानीका कारण सम्भव भएको हो । निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा सहभागी नगराएको भए अहिले पनि लोडसेडिङको मार खपिरहनुपथ्यो । निजी क्षेत्रले प्राधिकरणकै उत्पादन सरह बिजुली उत्पादन गरिरहेको छ । निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि नेपालबाट अझै धेरै बिजुली निर्यात गर्न सक्ने अवस्था आउँछ । तर, बजारको खोजीका लागि भइरहेको पहल पर्याप्त देखिँदैन । यसतर्फ भने सरकारले ध्यान दिन आवश्यक छ । हाम्रो अर्थतन्त्रको ठूलो हिंसा विद्युत क्षेत्रले नै धान्न सक्ने भएकाले यसको उत्पादन र बजारीकरणमा सरकारले तदारुकता देखाउन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update