Shittalpati
स्थानीय विकासमा सहयोग गर

जनताको नजिकको सरकार भनेको स्थानीय सरकार हो । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको समग्र अभ्यास स्थानीय तहले फरक ढंगबाट गर्ने हुँदा ‘सरकार’ सञ्चालनको अनुभूति दिलाएको छ । सबैभन्दा ठूलो उपलब्धि भनेको स्थानीय तहप्रति जनताको स्वीकार्यता हो । ‘स्थानीय निकाय’को लामो समयदेखिको रिक्तताका कारण अवरुद्ध सार्वजनिक सेवा प्रवाह र विकास निर्माणले स्थानीय तहको स्थापनासँगै गति समात्यो । जनताले चुनेका प्रतिनिधिमार्फत शासन सञ्चालन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरू कार्यान्वयनमा आए । आधारभूत सेवा वडा कार्यालयमार्फत नै प्रवाह हुने व्यवस्थाले जनताको घरदैलोमा सरकार पुगेको अनुभूति गराएको छ । स्थानीय जनताको जीवन र जीविकोपार्जनलाई सहज तुल्याउन स्थानीय सरकारले सक्दो योगदान गरेका छन् । स्थानीय आर्थिक विकास, सामाजिक विकास, स्वास्थ्यमा पहुँच विस्तार, कृषि र पशुपालनमा अनुदान, उद्यमशीलताको प्रवद्र्धधन, रोजगारी सिर्जना, भौतिक पूर्वाधारको विकास, सडक सञ्जाल निर्माण, सिंचाइ कुलो, गोरेटो बाटो आदि जस्ता कार्यहरू स्थानीय सरकारबाट नै भएका छन् । यसलाई अत्यन्त सकारात्मक रुपमा लिनुपर्छ ।

विकासका लागि प्रदेश र संघीय सरकार भनिएपनि आखिर स्थानीय तहमार्फत नै हुने हो । प्रदेश र संघबाट बजेट ल्याएर स्थानीय सरकारले नै स्थानीय विकास गर्ने गरेका छन् । स्थानीय विकासमा स्थानीय सरकारहरुको ध्यान अलि बढी नै केन्द्रीत हुने गरेको छ । जहाँकी प्रदेश र संघीय सरकारले स्थानीय विकासमा खासै चासो पनि दिदैनन् । स्थानीय जनप्रतिनिधि भएकाले पनि आफ्नो ठाउँको विकासमा स्थानीय सरकारका प्रतिनिधिहरु अलि बढी क्रियाशिल हुनु स्वभाविक पनि हो । स्थानीय विकासको अपनत्व स्थानीय जनप्रतिनिधिहरुलाई नै अलि बढी हुने गर्दछ । स्थानीय जनताको सहभागिता, स्वामित्वमा स्थानीय विकास हुने गर्दछ । स्थानीय उत्पादनमा वृद्धि र जनताको जीविकोपार्जनको अवस्थामा सुधारका लागि स्थानीय आर्थिक विकासको मोडलले पनि महत्वपूर्ण भूमिका खेलेको छ । तर प्रदेश र संघीय सरकारले भने बेला बेलामा स्थानीय विकासप्रति हस्तक्षेप गर्ने गरेको पाइन्छ । यो अत्यन्त दुखद् हो । स्थानीय विकास हुनु भनेकै देशको विकास हो । यसमा प्रदेश र संघीय सरकारको हस्तक्षेप हुनु हुँदैन । बरु यसका लागि संघीय एवं प्रदेश सरकारले आवश्यक सहयोग गर्नु उचित हुन्छ ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update