Shittalpati
सरकार निर्माणको रस्साकस्सी

प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम आइसकेको छ । अब दलहरू सरकार बनाउने रस्साकस्सीमा जुटेका छन् । कुनै पनि दलले बहुमत लिन सकेनन् । जसले गर्दा मिलेर सरकार निर्माण गर्नु परेको छ । नेपाली काँग्रेस र नेकपा एमाले केही सिटले अगाडि–पछाडी भएका छन् । सत्तारुढ गठबन्धनको पनि बहुमत पुगेको छैन र वामशक्तिहरू एकातिर लाग्दा पनि बहुमत पुग्न सक्दैन । जसले सरकार बनाए पनि साना दलहरूलाई समेटेर लैजानुपर्दछ । अहिले सत्ता पक्ष गठबन्धन र प्रतिपक्ष दल एमाले आ–आफ्नो नेतृत्वमा सरकार बनाउने ध्याउन्नमा देखिन्छन् । यस्तो बेलामा सरकार गठनका लागि गोटी सत्तापक्ष र प्रतिपक्ष दुवैबाट चालिने सम्भावनालाई इन्कार गर्न सकिदैन । बहुमत कुनै पनि दलले नल्याएको अवस्थामा मिलेर सरकार बन्ने भएपछि जनतामा खासै उत्साह देखिदैन । मिलिजुली सरकारबाट जनताका चाहानाहरु पूरा नहुने भएपछि जनतामा उत्साह नदेखिएको हो ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजनीतिक स्थायित्व र विकासको परिकल्पना धेरैमा थियो तर, यो परिकल्पना अहिलेको निर्वाचनमा सीमित रह्यो । राजनीतिक स्थायित्व नै मेरुदण्डका रूपमा रहेको यो विषय अहिलेको निर्वाचनबाट पनि टुंगो लाग्न सकेन । कुनै राजनीतिक पार्टी त के, सत्तासिन गठबन्धनले समेत यस विषयमा निर्णायक जनमत पाउन नसकेपछि फेरि पनि मिलिजुली सरकार गठन र सञ्चालनको खेल पुनः दोहोरिएको छ । सरकार गठनका लागि गठबन्धनसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य पार्टीलाई पनि हारगुहार गर्न थालिसकेका छन् । सत्ताधारीको यो चलखेल निकै गम्भीरताका साथ नियालिरहेका प्रतिपक्षका नेता केपी शर्मा ओलीले पनि आफ्नै किसिमले पहल गरिरहेका छन् । सत्ता पक्ष र प्रतिपक्ष दुवैलाई सरकार गठनका लागि बराबरको हैसियत प्राप्त भएकाले पनि सरकार गठनमा दुवै पक्षको रस्साकस्सीलाई स्वभाविक रुपमा हेरिएको छ । जसको नेतृत्वमा सरकार बने पनि राजनीतिक स्थायित्व र विकास अहिलेको आवश्यकता हो । यो कुरालाई सबै दलहरुले मनन् गर्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update