Shittalpati
आप्रवासी दिवस झारा टराइ नबनोस्

डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस पर्दछ । हरेक वर्ष जस्तै आज पनि विविध कार्यक्रहरु गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघले ‘सबै आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि’ पारित गरेको दिनलाई यो दिवसका रुपमा लिने गरिन्छ ।

राष्ट्रसंघीय महासभाले डिसेम्बर १८, १९९० मा यो महासन्धि पारित गरेको थियो । महासभाको डिसेम्बर ४, २००० को निर्णयअनुसार भने सरकारी, गैरसरकारी र नागरिक तहबाट यो दिवस मनाउन थालिएको हो । खासमा यो महासन्धिलाई आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको आधारभूत अधिकार संरक्षण गर्ने प्रमुख अन्तर्राष्ट्रिय दस्तावेजका रुपमा लिने गरिन्छ । यसले राष्ट्रसंघीय मानवअधिकारका दस्तावेज, अन्तर्राष्ट्रिय श्रम संगठनका आप्रवासी कामदारसम्बन्धी महासन्धिलाई समेटेको छ । महासन्धिले अभिलेखवद्ध तथा कागजातविहीन आप्रवासी कामदारको अधिकारलाई संरक्षण गरेकाले पनि यो महासन्धि नेपालजस्तै देशका लागि महत्वपूर्ण छ । यही प्रमुख दस्तावेज पारित भएको दिनलाई स्मरण गर्दै डिसेम्बर १८ मा यो दिवस मनाइन थालिएको हो ।

सबै आप्रवासीहरूको हकहित र आत्मसम्मानलाई सुनिश्चित गर्नु यस दिवसको उद्देश्य रहेको छ । तर नेपाल सरकारले आप्रवासीहरूको मर्यादित जीवन र सम्मानपूर्ण कामको वातावरण निर्माण गर्न भने सकिरहेको छैन । विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा र मानवअधिकारका विषयमा विदेशी नागरिक भएकै कारण विभेद गर्ने गरिन्छ । यसको अन्त्य गर्न नेपाल सरकारले सम्बन्धित सरकारसँग समन्वय गर्न आवश्यक छ । आप्रवासी कामदार र तिनका परिवारलाई जात, लिंग, धर्म, वर्ण, विचार, राष्ट्रियता, उमेर, आर्थिक स्थिति, विवाह, जन्मका आधारमा भेदभाव गर्न नपाइने बताइए पनि अहिलेसम्म त्यस्तो वातावरण सिर्जना हुन सकेको छैन । यो अत्यन्त दुुखको कुरा हो । हरेक वर्ष मनाइने दिवसले यसतर्फ ध्यान दिन आवश्यक छ । दिवस केवल मनाउनका लागि मात्र नभई विगतको समीक्षा, भविष्यको कार्ययोजना र कामदारको अधिकार, न्याय तथा नीतिगत तहमा पहुँचको लागि हुनुपर्छ । यसो हुुन सक्यो भने मात्र दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ अन्यथा झारा टराइमात्र हुनेछ ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update