Shittalpati
निजी क्षेत्रलाई उपेक्षा नगरौं

मुलुकमा अर्थतन्त्र सुधारका लागि थुप्रै प्रयास भइरहेका छन् । तर प्रयासहरुले सार्थक रुप प्राप्त गर्न भने सकेका छैनन् । अर्थतन्त्रको उपचार खोज्दै गर्दा अर्थतन्त्रको मुख्य अंगलाई नै उपेक्षा गरिएको छ । उद्योगी–व्यवसायीहरु संलग्न रहेको निजी क्षेत्रलाई अहिले उपेक्षा गरिएको छ । जसका कारण देशभरबाट उद्योगी व्यवसायिहरु सडकमा आएका छन् । जसले शरीरका सबै अंगलाई जीवित राख्न र ज्वलन्त बनाउ ठूलो भूमिका खेलेको छ, उसैलाई उपेक्षा गर्नु दुखद् हो । यसो हुनु हुँदैन । अर्थतन्त्रको मुख्य अंग भनेकै निजी क्षेत्र हो ।

अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ७५ प्रतिशतभन्दा बढी छ । आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार कुल लगानी (कुल पुँजी निर्माण) मा ७८ प्रतिशत हिस्सा निजी क्षेत्रको छ । सरकार सञ्चालनको मुख्य स्रोत राजस्वमा निजी क्षेत्रले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा यति नै योगदान दिइरहेको छ । वार्षिक करिब साढे चार लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । त्यसमध्ये २ लाख जति वैदेशिक रोजगारीमा जाने गरेका छन् । थोरैले मात्र सरकारी सेवामा अवसर पाउँछन् । बाँकीलाई निजी क्षेत्रले नै कुनै न कुनै रूपमा रोजगारी दिइरहेको छ । त्यसैले अहिलेको अवस्था के छ भने निजी क्षेत्र नभई हुदैन । तर निजी क्षेत्रसँग सरकार खुलेर सहकार्य गर्न चाहन्न । यसैका कारण पनि निजी क्षेत्र र सरकारसँगको सम्बन्ध पछिल्लो समय चिसिदै गएको छ । बंैंकहरुको चर्को व्याजको विरुद्धमा उद्योगी–व्यवसायी सडकमा आउनुु पनि सरकार र निजी क्षेत्र बिचको सम्बन्धमा आएको खट्पट् नै हो ।

मुलुक सञ्चालनमा निजी क्षेत्रको ठूलो भूमिका छ । तर पछिल्लो समय तिनै निजी क्षेत्रका उद्यमी व्यवसायी भने यथास्थितिमा व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै आन्दोलनको चेतावनी दिएका छन् । नेपालको अर्थतन्त्रलाई तत्काल गतिशील नबनाउने हो भने मुलुक गम्भीर दुर्घटनामा पर्नसक्छ । सरकारी नीतिका कारण देशमा उद्यमको वातावरण कुण्ठित भएको गुनासो निजी क्षेत्रले केही वर्षदेखि गर्दै आए पनि सरकारले त्यसमा खासै ध्यान दिएन । उल्टै यसबीचमा सरकारले अपनाएको नीतिका कारण उद्यम व्यवसायमा संकट थपिएको छ । कोभिड कहरका कारण शिथिल नेपालको अर्थतन्त्र त्यसपछि बौरिनै सकेन । संसारका धेरै मुलुकका सरकारले निजी क्षेत्रलाई हौसला दिने नीति अपनाए र अर्थतन्त्रलाई गतिशील बनाए । दुर्भाग्य, नेपालमा भने सत्ताधारीले निजी क्षेत्रलाई सधैं शङ्काको दृष्टिले हेरे । जसका कारण अहिले देशको आर्थिक अवस्था अत्यन्त कमजोर बन्दै गयो । अब पनि नीजि क्षेत्रलाई उपेक्षीत गर्ने हो भने अर्थतन्त्र झन् कमजोर बन्दै जाने छ । तसर्थ नीजि क्षेत्रको मागलाई सम्बोधन गर्दै लैजान सकियो भने अर्थतन्त्र बलियो बन्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update