Shittalpati
अपाङ्ग दिवसको सार्थकता

अपाङ्ग दिवसको सार्थकता हरेक वर्ष डिसेम्बर ३ तारिखमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै आइरहेको छ । सन् १९९२ बाट हरेक वर्षको यो दिवस मनाउन थालिएको हो । अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयास स्वरुप नेपालमा पनि सन् २०१३ बाट उक्त दिवस मनाउन थालिएको हो । शनिबार विविध कार्यक्रमहरुको आयोजना गरी विश्व अपाङ्गता दिवस मनाइएको छ । अपाङ्गता भएका व्यक्तिका लागि काम गर्ने भनेर नेपालमा धेरै संघ संस्थाहरु सक्रिय छन् तर अपाङ्गता भएका व्यक्तिका पीडा भने ज्यूँकात्यूँ छन् । समाज कल्याण परिषद्का अनुसार अपाङ्गताको क्षेत्रमा काम गर्ने भनेर दर्ता भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको संख्या झण्डै एक हजार पाँच सय छ । सरकारी र गैरसरकारी क्षेत्रले अपाङ्गता भएका व्यक्तिलाई समुदायमा पुनःस्थापना र परिचालन गर्न धेरै लगानी गरे पनि अपाङ्गगता भएका व्यक्तिको अवस्थामा भने खासै परिवर्तन आउन सकेको देखिदैन । नेपाली समाजमा दिनैपिच्छे विभिन्न दिवस मनाउने गरिन्छ ।

औपचारिक रुपमा दिवस मनाउँदा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको संरक्षण भइरहेको भ्रम पर्न जान्छ । तर, हाम्रै गाउँ समाजमा अपाङ्ग व्यक्तिहरुको नियति भने बिल्कुलै फरक छ । उनीहरुलाई अझै पनि पारिवारिक बोझका रुपमा तिरस्कार गरिएका र दाम्लो/सिक्रीले बाँधेर पशुवत् व्यवहार गरिएका उदाहरणहरु प्रशस्तै भेटिन्छन् । अपाङ्गता सम्बन्धी जेजति गतिविधि भइरहेका छन्, त्यो पर्याप्त छैन । समाजमा अपाङ्गता भएका व्यक्तिहरुले भोग्नुपरेका यावत् समस्या सम्बोधन हुन सकेको छैन । सरकारले अपाङ्गता भएका व्यक्तिहरुका लागि खासै सेवासुविधा प्रदान गर्न सकेको छैन । अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक, सामाजिक तथा शैक्षिक स्थिति पनि अत्यन्त नाजुक अवस्थामा छ । मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण परिवर्तन आएपनि अपाङ्गता भएका व्यक्तिहरु सम्बन्धी विशेष व्यवस्था भने हुन सकेको पाइएको छैन । सरकारी कार्यालय समेत अझैसम्म अपाङ्गमैत्री बन्न नसकेको अवस्था छ । यसर्थ अपाङ्गता भएका व्यक्तिहरुलाई तिरस्कार गरेर होइन, मानव अधिकारको संरक्षण र संवद्र्धन गर्दै समाजमा सम्मानपूर्वक बाँच्ने अवसर प्रदान गर्न सकेमा अपाङ्ग दिवसको सार्थकता रहने छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update