Shittalpati
पराजयबाट पाठ सिकौं

निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । त्यही निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । जहाँ जनमत बढी आउन्छ त्यहाँ जित हुन्छ । निर्वाचनमा जनताको मतलाई नै सर्वपरी ठान्ने गरिन्छ । जनताले जसलाई मन पराउँछन्, उसले चुनाव जित्छ र जनप्रतिनिधि बन्छ । तर चुनाव नजित्नेले केही पनि गर्न सक्दैन भन्नु हुँदैन । उसले संसदमा जनताको आवाज बुलन्ध गर्न नसक्ला तर बाहिरबाट भने सम्बन्धित निकायलाई खबरदारी गर्ने काम चाही गर्न सक्छ । संघीय प्रतिनिधिसभा र प्रदेशसभाले नेपाली कांग्रेस र नेकपा एमालेलाई अधिक मतदान गरेर जिताए पनि वास्तवमा विगतका निर्वाचनको परिणामसँग दाँजेर हेर्दा यी दुवै दलले करिब पाँच प्रतिशतले निर्वाचन हारेका छन् । उनीहरुको हार त्यति बराबर छ जति राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन योगदान दिएका शक्तिहरु पराजित हुने र नयाँ शक्तिले मत पाउने अवस्थाले ठूला दललाई पाठ सिकाउनुपर्छ ।

अहिले ठूला राजनीतिक दल र राम्रै ठानिएका उम्मेदवारहरु पनि लजास्पद हार व्यहोर्नु परेको छ । यसो भन्दै गर्दा पराजय हुने व्यक्ति र पार्टीको इज्जत–प्रतिष्ठा नै सकिएको चाहिँ होइन् । सम्बन्धित चुनावमा मतदाताले नपत्याएको वा तिनका पक्षमा कुनै हावा–हुन्डरी नआएको मात्र हो । कतिपय यस्ता व्यक्तिहरू पराजित भएका छन्,जसको सामाजिक प्रतिष्ठा र पहिचान उल्लेख्य छ । राजनीतिक आचरण बिगारिहेका, अपराधका मुद्दा खेपिरहेकाजस्ता व्यक्तिले अत्यधिक मतले जितिरहेको परिप्रेक्ष्यमा कम मत ल्याएर पराजय हुनु लज्जाको विषय होइन । तिनलाई गिज्याउने सामाजिक प्रचलन न्यायसंगत मानिन्न् । कम्तिमा पनि राजनीतिमा पाइला चाल्न तिनले गरेको पहल सकारात्मक छ । निर्वाचनमा पराजित हुनेमा स्थापित पार्टीका ठूला नेतादेखि कतिपय कहलिएका पेशाकर्मी एवं स्रष्टासम्म छन् । निश्चिय पनि जनप्रतिनिधि बन्न चाहिँ निर्वाचन जित्नैपर्छ । चुनाव हार्नु नै हुँदैन वा चुनाव हार्नु सबैथोक हार्नु भन्ने पनि होइन । कति चुनाव हारेर पनि जितिन्छ र जितेर पनि हारिन्छ । अहिले केही नयाँ पार्टीहरुको विजय र पुराना कहलिएका दल, व्यक्तिहरुको पराजयले पुराना पार्टीहरूलाई सही बाटामा हिँड्न ठूलो सन्देश दिएको छ । यसर्थ राजनीतिक दलहरुले पराजयबाट निराश होइन पाठ सिकेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update