Shittalpati
सरकार निर्माणको चर्चा

मतपरिणाम आउने क्रम जारी रहँदा सरकार गठन प्रक्रिया र अब बन्ने सरकारको नेतृत्व कसले गर्छ भन्ने चर्चा राजनीतिक वृत्तमा व्याप्त छ । अबको प्रधानमन्त्री को ? गगन थापा, शेरबहादुर देउवा, पुष्पकमल दाहाल कि केपी शर्मा ओली ? आम जनता यही प्रश्नमा रुमलिरहेका छन् । यसको एकीन उत्तर अहिले कुनै राजनीतिक दलसँग छैन । सरसर्ती हेर्दा गठबन्धन दलहरुबाट नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने देखिन्छ । तर सरकार गठनका अन्य विकल्पका बारेमा आन्तरिक चलखेल सुरु भइसकेको छ । गणितीय हिसाबले सत्ता गठबन्धन दलहरु नै सरकार गठनका लागि बहुमततिर उन्मुख भइरहेका छन् । तर नेपालको राजनीतिमा विगतमा अंकगणितको मात्र हिसाब भएको देखिँदैन् । भूराजनीतिक छायाँ र त्यसका प्रभावहरू पनि विगतमा अर्थपूर्ण देखिएका थिए । त्यसले गर्दा अहिले नै यो वा त्यो दलको नेतृत्वमा सरकार बन्छ भनेर ठोकुुवा भने गर्न सकिने अवस्था छैन् । तर अहिले यिनै विषयले चर्चा भने पाई नै रहेको छ । कसैको पनि बहुमत नआएपछि कसको नेतृत्वमा सरकार बन्छ र को प्रधामन्त्री बन्छ ? भन्ने विषयले चर्चा पाउनु स्वभाविक नै हो ।

कुनै पनि दलले निर्णायक जनमत पाउन नसकेपछि फेरि पनि मिलिजुली सरकार गठनको खेल जारी नै रहने देखिएको छ । यस्तो बेलामा सरकार गठनका लागि गोटी सत्तापक्ष र प्रतिपक्ष दुवैबाट चालिने सम्भावनालाई इन्कार गर्न सकिने देखिँदैन । किनकी अहिले सत्ता पक्ष र प्रतिपक्षलाई सरकार गठनका लागि लगभग बराबरको हैसियत प्राप्त भएकाले पनि सरकार गठनमा दुवै पक्ष अघि बढिरहेको पाइन्छ । सत्तापक्ष र प्रतिपक्षको यो हैसियतले मिलिजुली बन्ने सरकार जसको नेतृत्वमा पनि सम्भव हुन थालेको संकेत गरिरहेको छ । अब गणना गरिने र गरिँदै गरेका मतले हालको परिणामलाई उलटफेर हुने गरी प्रभावित पार्न सक्दैनन् । त्यसैले पनि सरकार गठनको चर्चा बढ्दै जान थालेको हो । सरकार जो जसको नेतृत्वमा बने पनि मुलुुकको समृद्धि र राजनीतिक स्थायित्व अहिलेको आवश्यकता । त्यसैले पनि जनताले मतदानमार्फत नै परिवर्तनको चाहना प्रकट गरेका छन् । त्यसलाई कार्यान्वयन गर्ने दायित्व अब सरकारमा पुुग्ने जो कोही निर्वाचित प्रतिनिधिहरूको हुनेछ । विगतमा गरेका गल्ती कमजोरीलाई सुधार्दै देशलाई राजनीतिक स्थिरताको बाटोमा लैजान तथा समृद्ध मुलुक निर्माणको बाटोमा लाग्नु नै निर्वाचनपछिको जनअपेक्षा हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update