Shittalpati
निर्वाचन पछिको परिदृश्य

मतदान सकिएसँगै देशभरबाट मत परिणाम आउने क्रम जारी छ । एकाध ठाउँमा बाहेक आइतबार सबैजसो ठाउँमा मतदान भएको छ । बाँकी हुुन नसकेका ठाउँहरुमा मंगलबार मतदान भएको छ । निर्वाचन सम्पन्न भैसकेको परिस्थितिमा फरक प्रकारका परिदृश्यहरु देखिन थालेका छन् । धेरै क्षेत्रहरुलाई सम्बोधन हुने किसिमले निकै अपेक्षासमेत राखिएको उक्त निर्वाचनबाट अघि आएका सङ्केतहरु भने धेरैको अनुमानभन्दा फरक देखिएको छ । गत स्थानीय निकायको निर्वाचनमा केही ठाउँका स्वतन्त्र उम्मेदवारहरू विजयी भएका कारण जनताले केही नयाँपन खोजेको हो कि जस्तो देखिनपुग्यो । यसपटकको निर्वाचनमा पनि कम मत खस्नु, केही मतदाताले प्रदेशको र समानुपातिकको मतपत्रमा मतदान नगर्नु, नयाँ र स्वतन्त्रप्रति आकर्षण देखाउनुले पुराना परम्परागत पार्टी जो २०४८ सालदेखि यो ३१ वर्षसम्म नेपाली राजनीतिको मूल प्रवाहमा रहेका छन् तीप्रति वितृष्णा व्यक्त गरेका हुन् कि जस्तो देखिएको छ । यो परिदृश्य मतदानका समयमा देशैभरि नै देखिन पुग्यो ।

अब त परिणाम पनि आउन थालेको छ । ठूला पार्टीहरूप्रति जनताको असन्तुष्टि देखिएको भए पनि तिनको विकल्प नदेखेर तिनैलाई मतदान गर्नुपर्ने बाध्यता जनतामा देखियो । ठूला दलका विकल्पमा आएका केही नयाँ दल र स्वतन्त्रहरूलाई पनि भरोसा गर्न जनताले सकेनन् । जसले गर्दा मतदानस्थलमा पुगेका मतदाताले तिनै नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र वा एकीकृत समाजवादीको गठबन्धनको भागबण्डामा परेका निर्वाचन चिन्हनमा मतदान गरेको पछिल्ला सार्वजनिक भइरहेका मत परिणामबाट प्रष्ट हुन्छ । केही स्थानको मत परिणाम आइसकेको छ भने केही ठाउँमा गणना अन्तिम चरणतर्फ पुगेको छ । यी परिणामलाई हेर्दा अग्रपंक्तिमा पुरानै दल रहेका छन् । केही ठाउँमा स्वतन्त्र र नयाँ दलहरूले राम्रै उपस्थिति देखाएका छन् तर तिनले धेरै ठाउँमा विजय हासिल गर्न सक्ने अवस्था छैन ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update