Shittalpati
निर्वाचन शान्तिपूर्ण होस्

प्रतिक्षारत मंसिर ४ को समय आज समाप्त हुँदैछ । प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचन देशैभर एकै साथ हुँदैछ । विशेषतः जनताले आफ्नो प्रतिनिधि चुन्ने अवसर पनि हो आजको निर्वाचन । जनताका प्रतिनिधि चुन्ने माध्यम निर्वाचन बाहेक छैन । पहिलोपटक मतदान गर्ने होस् वा पुरानै मतदाता सबैले इमानदार, क्षमतावान्, दूरदृष्टि भएको र सिर्जनशील नेतृत्व खोजिरहेका छन् । उनीहरू आफूले भोगिरहेका ठूला समस्याको समाधान गरिदिने, देशलाई विकास, सुशासन र समुन्नतितर्फ लैजान सक्ने प्रतिनिधि चुन्न चाहन्छन् । यस पटक मतदाताहरू साँच्चै देशलाई सबै हिसाबले माथि उकास्ने नेतृत्व चाहिरेका छन् । हामी सार्वभौम सत्ता भएको मुलुकका नागरिक हौं । मतदान हाम्रो सार्वभौम अधिकार हो । नेपालले आवधिक निर्वाचन प्रणाली अपनाएको हुनाले, हरेक पाँच–पाँच वर्षमा हाम्रोमा तीनै तहको निर्वाचन हुन्छ र हामीले निर्वाचनमा सहभागी हुने अवसर पाउँछौं । नेपाल मात्र होइन, विश्वका धेरै देशमा मताधिकारकै लागि ठुल्ठूला युद्व लडिएका छन् । रगतका खोला बगाइएका छन् । नेपालीले पनि सहजै यो अवसर प्राप्त गरेको होइन । यसका लागि हजारौं नेपालीले बलिदान दिएका छन् ।

निर्वाचन आफ्नो इच्छा जाहेर गर्ने माध्यम हो । मतदानमार्फत नै हामी हाम्रा प्रतिनिधि छान्छौं । कस्तो कानुन तथा नीति निर्माण गर्ने प्रतिनिधि छान्ने हाम्रै हातमा छ । देशलाई कस्तो भविष्य दिने भन्ने हाम्रै मतले निर्धारण गर्छ । आजको दिन भविष्य निर्धारण गर्ने दिन पनि हो । त्यसैले सबैले शान्ति र भयरहित वातवरणमा मतदान गर्न पाउनुपर्छ । यो सबै मतदाताको मौलिक अधिकारको कुरा हो । विगतका केही निर्वाचनहरु धाँधली र त्रासको वातावरणमा भएका घटनाहरु पनि छन् । तर यस पटक त्यस्तो नहोस् । सबैले शान्त र ढुक्क भएर आफ्नो प्रतिनिधि चु्न्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ । निर्वाचन आयोग पनि यो विषयमा गम्भीर बनेको छ । यो आफैमा सकरात्मक छ । आयोगको बनाएका आचारसंहिता सबैले पालन गर्नुपर्छ । निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन निर्वाचनमा खटिएका निर्वाचन अधिकृतदेखि सबै कर्मचारीहरू इमानदार हुनुपर्छ । आस्थाको आधारमा कहीँकतै भेदभाव गर्नुहुँदैन । राजनीतिक दल, निर्वाचनमा खटाइएका कार्यकर्ता, स्वयम्सेवकहरूले पनि आ–आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गरौं । यसो गर्न सकियो भने निर्वाचन शान्त र स्वच्छ बन्न सक्छ । तसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update