Shittalpati
लगानीको वातावरण सिर्जना गरौं

स्वदेशमै लगानीको वातावरण सिर्जना हुन सकेको छैन । सरकार र राजनीतिक दलहरुले भाषण र नीतिमा उल्लेख गरे पनि व्यवहारतः लगानीको वातावरण हुन सकिरहेको छैन । नेपालमा भएका उद्योग धन्दाहरु समेत बन्द हुन पुुगेका छन । सरकारले सञ्चालनमा आएको उद्योग, व्यवसायीहरुको ग्यारेन्टी गर्न नसक्दा लगानीको वातावरण समेत सिर्जना हुन सकेको छैन । केही दशकयता मुलुक वैदेशिक रोजगारीका भरमा चलेको छ । यस्तोमा स्वदेशमा उद्योग–व्यवसाय गर्नेहरू घट्नु र वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै जानु दुखद् हो । राजनीतिक नेता र सरकारले जेजस्तो भने पनि मुलुकमा उद्योग–व्यवसाय खोल्ने वातावरण छैन । लगानीकर्ताले विभिन्न तरिकाबाट संस्था वा कम्पनी वा वित्तीय संयन्त्रहरूमा लगानी गर्न सक्दछ । तर नेपालमा सरकारले लगानी सम्बन्धी विभिन्न ऐन–कानुन संशोधन गरेर लगानी गर्न नसक्ने वातावरण नै सिर्जना गर्ने गरेको छ ।

बेलामा बेलामा लगानीकर्ताहरु सरकारको निर्णयप्रति आन्दोलित हुन बाध्य छन् । देशको आर्थिक विकासका लागि लगानी कर्तालाई धेरै भन्दा धेरै लगानी गर्न सक्ने वातावरण सिर्जना गरिनु पथ्यो तर सरकार र सत्तामा पुग्ने राजनीतिक दलहरुले नै उनीहरुलाई निरुत्साहित गराउने गरेका छन् । यो विडम्वनाको कुरा हो । यहाँ न बाहिरबाट आएर लगानी कर्ताहरु लगानी गर्न सक्छन् नत स्वदेशका लगानी कर्ताले नै । अनि कहाँबाट देशमा समृद्धि र विकास हुन्छ ? यस विषयमा सरकार र राजनीतिक दलले समीक्षा गर्नु आवश्यक छ । अहिले आगामी मंसिर ४ मा हुँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलका नेताहरू सर्वसाधारणको घरदैलोमा पुगेर मत मागिरहेका छन् । उनीहरुले चुनावी घोषणापत्रमा मुलुकलाई अन्य विकसित राष्ट्रहरूको दाँजोमा पु¥याउनेदेखि सर्वसाधारणको जीवनस्तर उच्च बनाउनेसम्मका ललिपप देखाइएका छन् । आगामी पाँच वर्षमा १२–१५ लाखको संख्यामा नयाँ रोजगारी सिर्जना गर्ने र युवालाई विदेश जानु नपर्ने बनाउने जस्ता आकर्षक नारा पनि चुनावी घोषणापत्रमा समेटिन छुटेको छैन । विगतमा पनि राजनीतिक दलहरूका नारा यस्तै हुने गरेका थिए । उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने र लगानीको वातावरण बनाउने भन्दै उनीहरूको नारा धेरै पुरानो भइसकेको छ । राजनीतिक दलहरूले मत तान्न सर्वसाधारणलाई जेजस्ता आश्वासन दिए पनि मुलुकको यथार्थ बेग्लै छ । सर्वसाधारण नेपाली रोजगारीका लागि विदेशिन बाध्य भएको धेरै भइसकेको छ । तर पनि दलहरुले नारा लगाएर अझै पनि थाकेका छैनन् । तसर्थ अब राजनीतिक दलहरुले व्यावसायिक वातावरण बनाएर लगानी ल्याउँछु भन्ने मात्र होइन, गरेर देखाउने समय आएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update