Shittalpati
उम्मेदवारका आ–आफ्नै दाबी

निर्वाचनको मिति नजिकिएको छ । आजको पाँच दिनपछि प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन हुुँदै छ । राजनीतिक दल, तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरु मतदातालाई विभिन्न आश्वास बाँड्दै मत मागिरहेका छन् । जहाँ जेभन्दा जो खुसी हुन्छन् भन्ने लाग्छ, त्यस्तै त्यस्तै आश्वासन बाँड्दै नेताहरु घरदैलोमा छन् । उनीहरुले भूमिहीन सुकुम्बासी बस्तीमा पसेर लालपुर्जाको आशा देखाइरहेका छन् ,खानेपानी नभएको गाउँमा पानी ल्याइदिने वाचा गरेका छन्, मोटर नपुगेको ठाउँमा सडक बनाउने कसम खाएका छन्, खोलामा पुल हाल्नेदेखि लिएर सिँचाइ र बिजुली बत्तीसम्मका आश्वासन उम्मेदवारका मुखमै झुण्डिएका छन् ।
शिक्षा, स्वास्थ्य र रोजगारीका आश्वासन पनि बाँडिएका छन् । यि आश्वासन सबै उम्मेदवारहरुले बाँडेकै छन् । निर्वाचन हार्ने पक्षमा कुुनै पनि उम्मेदवार छैनन् । उनीहरुको आ–आफ्नै जित्ने अडान छ । यो हुुनु स्वाभाविक नै हो । जो कोही उम्मेदवारहरु जित्ने भनेर नै चुनावी मैदानमा उत्रिएका हुन्छन् । उम्मेदवारहरुले आ–आफ्नै जित्ने अडान लिए पनि कसको विजय हुन्छ र को पराजित हुन्छ भनेर अहिले नै भन्न सकिँदैन । जनताले निर्वाचित गर्ने हो । भोलि कसलाई जनताले मत देलान् भन्ने निर्णय अहिले कसैले गर्न सक्दैन । भोलि अन्तिम क्षणमा र मतदानका समयमा समेत कुनै उम्मेदवारको पक्षमा आएको लहर फेरिन सक्छ । निर्वाचनको प्रचारका लागि पाएको लामो समयभन्दा केही दिनको मौन अवधि जो प्रचारका लागि निषेध हुन्छ, त्यही समय चाहिँ प्रभावकारी मानिन्छ भन्ने हो । अरूलाई तुच्छ देखाएर राष्ट्रका लागि आफ्नो आवश्यकता छ भन्ने देखाउने होडबाजी अहिले चलिरहेको छ । यसर्थ कसले जित्छ भन्ने कुरा निर्वाचनपछिको मत परिणामले नै बताउने छ । अहिले जित हारको बहस भन्दापनि निर्वाचनलाई कसरी स्वच्छ, मर्यादित र निष्पक्ष बनाउने र मतदातालाई मताधिकारको सुुनिश्चित गर्ने दिशामा सबैको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update