Shittalpati
मधुमेह रोगबारे सचेत बनौं

यस वर्षको विश्व मधुमेह दिवस आज संसारभरी मनाउन लागिएको छ । सन् १९९१ नोभेम्बर १४ देखि हरेक वर्ष मधुमेह रोग र यसले पार्ने शारीरिक जटिलताका बारेमा यो दिवस मनाउन लागिएको हो । अन्तर्राष्ट्रिय मधुमेह महासंघले इन्सुलिन अर्थात् मधुमेह रोगको उपचारमा प्रयोग हुने औषधिको आविष्कारक फ्रेडरिक ब्यान्टिनको जन्म दिन पारेर विश्व मधुमेह दिवसको घोषणा गरेको थियो । सोही अनुसार यो दिवस मनाइंदै आइएको छ । यो दिवसको मर्मलाई सार्थकता प्रदान गर्ने उद्देश्यले दिवसका दिन मधुमेह रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु हुने गर्दछन् । मधुमेह रोग संसारभरि नै नसर्ने रोगमध्ये प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको छ । शरीरको प्यांक्रियाज भन्ने ग्रन्थीबाट निस्किने इन्सुलिन ग्रन्थीरसको उत्पादन नभएमा अथवा उत्पन्न इन्सुलिनले राम्रो काम गर्न नसकेमा रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह रोग अर्थात् चिनी रोग भन्ने गरिन्छ ।
नेपालमा लाखौं मानिस मधुमेहबाट पीडित रहेका छन् । पछिल्लो समय २० वर्षमाथिका युवायुवतीमा पनि यो रोग देखिन थालेको छ । यो अत्यन्त दुखको कुरा हो । यसको रोकथाम तथा नियन्त्रण गर्न सकिएन भने यसले विकराल रुप नलेला भन्न सकिदैन । हाम्रो जीवनशैली र खानपिन पनि अव्यवस्थित हुन थालेको छ । युवापुस्तामा बजारिया खानेकुरा र ड्राइफुडको सेवन गर्नेक्रम बढ्दो छ । प्याकेटका तयारी खाजा (जंकफुड)को प्रयोग मधुमेहका लागि बिषसमान मानिन्छ । मधुमेहबाट सबैखाले मानिस प्रभावित हुँदै गएकाले पछिल्लो समय अर्गानिक खाद्यवस्तुतर्फ मानिसको ध्यान केन्द्रित हुन थालेको छ । शहरिया जीवनशैली, विलासीपन र अत्याधिक विषादी प्रयोग गरिएका फलफूल, तरकारी र खाद्यान्नको सेवनका कारण मानिसहरु मधुमेहबाट प्रताडित भइरहेका छन् । अस्वस्थ जीवनशैली नै मधुमेह निम्त्याउने कारक तत्वव हो । यो रोगबाट आफू र अरुलाई बचाउने कुरामा ध्यान दिनुपर्छ । तसर्थ यसका लागि अस्वस्थ खानपान, धूमपान, मद्यपानजस्ता जोखिमपूर्ण क्रियाकलाप घटाई, नियमित व्यायाममा सबैले अग्रसरता देखाउनुु अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update