Shittalpati
चितुवाको बढ्दो आक्रमण

पछिल्लो समय नेपालका धेरै ठाउँहरुमा चितुवाको आक्रमणका घटनाहरु बढेको पाईन्छ । चितुवा गाउँ घरमै पुगेर मानिसमाथी आक्रमण गरेका घटनाहरुको समाचार अहिले दिनहुँ आईरहेका छन् । चितुवाको आक्रमणबाट केहिको ज्यान समेत गएको छ, भने केही घाईते भएका छन् । केहि दिन अघि तनहुँको व्यास नगरपालिकामा चितुवाले आठ वर्षीय एक बालक र बन्दीपुर गाउँपालिकामा ११ वर्षीया बालिकालाई आक्रमण गरेर मारेको छ ।

यहाँ कार्तिक महिनामा मात्र यी दुई घटना घटेका हुन् । गत मंगलबार स्याङ्जामा पनि चितुवाको आक्रमणबाट तीन जना घाईते भएका छन् । पाल्पामा पनि चितुवा घरमै पसेर मानिसलाई आक्रमणको प्रयास गरेका घटना बेला–बेलामा आउने गर्दछ्न । यी त केही प्रतिनिधि घटना मात्रै हुन् । नेपालका अन्य ठाउँहरुमा पनि चितुवाको आक्रमणबाट ठूलो मानविय क्षति हुने गरेको छ । विगतमा यस्ता घटना दर्जनौ भएका छन् र त्यसबाट धेरैको ज्यानसमेत गएको छ । घरलाई सुरक्षाको आधार मानिए पनि कयौँ ठाउँमा रहेका घर चितुवाका कारण अहिले असुरक्षित बन्न पुगेका छन् । आफ्नै घरभित्र रहेका बालबालिका समेत सुरक्षित हुन सकिरहेका छैनन् । विशेषगरी, बालबालिका नै सबैभन्दा बढी चितुवाको सिकार भैरहेका छन् । चितुवाको आक्रमण यसरी बढ्दै गएको अवस्थामा स्थानीयवासीहरु आतङ्कित हुनु अस्वाभाविक छैन, यद्यपि उनीहरुले अझै पनि स्थानीय प्रशासनबाट भरपर्दो सुरक्षाको प्रत्याभूति भने पाउन सकेका छैनन् । यो अत्यन्त दुखको कुरा हो । चितुवा नियन्त्रणका निम्ति भन्दै कयौँ ठाउँमा खोरको निर्माण पनि नगरिएको होइन, तर त्यसका बाबजुद पनि चितुवा झनझन् आक्रामक हुँदै जानु भनेको निकै ठूलो चिन्ताको विषयसमेत बन्न पुगेको छ । वन्यजन्तुको सुरक्षाभन्दा ठूलो मानव सुरक्षा हो र हुनुपर्छ । चितुवा लुक्न सक्ने सम्भावित क्षेत्रको छानबिन गरेर त्यसलाई तुरून्तै सिल गर्ने अभ्यास व्यावहारिक हुन सक्छ । चितुवाको बिगबिगी भएको ठाउँमा गाउँलेहरुलाई सतर्कता अपनाउन निर्देशन दिनुका साथै उच्च सचेतताका कार्यक्रमसमेत प्रस्तुत गर्न सकिन्छ । त्यसका लागि स्थानीय,प्रदेश र संघीय सरकारले नियन्त्रण गर्ने दीर्घकालीन योजना ल्याउन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update