Shittalpati
सावधानी अपनाऔं

नेपालमा अझै पनि कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । महामारी पछिल्लो समयमा केही साम्य भएको जस्तो देखिए पनि संक्रमित हुनेको संख्या दैनिक रुपमा देखिएकै छ । खोपले धेरै हदसम्म नियन्त्रण भए पनि निर्मूल हुन अझै सकेको छैन । त्यसैले साम्य भयो भनेर मख्ख पर्ने अवस्था छैन । कोरोनाविरुद्धको खोपले कति काम गर्छ भन्ने यकिनसमेत भइसकेको छैन । संक्रमणको अवस्था नरोकिए पनि यसको पालना भने भएको छैन । यो वर्ष निर्वाचनको वर्ष भएकाले पनि मानिसहरु भीडभाड र कार्यक्रममा मास्कको प्रयोग नै नगरी हिडेका छन् । सरकारले समेत स्वास्थ्य मापदण्ड अपनाउन भनेको छ । तर यसको कसैले पनि पालना गरेका छैनन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी सरकारले भीडभाडमा जाँदा सावधानी अपनाउन आग्रह गरे पनि नेतादेखि कार्यकर्ताले समेत यसको परिपालना नगर्नु दुःखद हो । त्यति मात्र होइन नीति निर्माण गर्ने तहमा पुुग्ने व्यक्तिहरु नै निर्वाचनको प्रचार–प्रसारमा घरदैलो अभियान, आमसभा, कोणसभाजस्ता भेला जमघटमा जाँदा समेत स्वास्थ्य मापदण्डको पालना नगर्नु दुर्भाग्यको हो । यस्ता विषयमा स्वयम नेता र कार्यकर्ता सचेत भई नागरिकलाई समेत स्वास्थ्य सुरक्षाको सन्देश फैलाउनु पर्नेमा नेताहरूले यसको पालना गरेको देखिँदैन । नेता, कार्यकर्ताले जनताको घरआँगनमा अरूबेला पुगेर सन्देश दिन नसके पनि चुनावका बेला भोट माग्न जाँदा कम्तीमा माक्स लगाएर जाँदा सकारात्मक सन्देश पुग्ने थियो । तर त्यसो गरेको समेत पाइँदैन । देश र जनताले चाहेको पनि स्वस्थ र स्वच्छ छवि भएको देशका लागि इमान्दारितापूर्वक काम गरी नागरिकको समस्यामा साथ दिनु पर्ने नेताहरू नै हो । त्यसैले नेताले नियम कानुनको पालना नगर्ने र जनताबाट मात्र अपेक्षा गर्ने हो भने मुलुक कहिले बन्छ यो अहिले बहसको विषय बनेको छ । भिडभाड गर्दा फेरी पनि कोरोना महामारी बढ्न सक्छ । तसर्थ आफू र जनताको स्वास्थ्य सुरक्षाका विषयमा निर्वाचनमा होमिएका राजनीतिक दल र उम्मेदवारहरुले सावधानी अपनाउन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update