Shittalpati
नियमित विपत्ति

यतिबेला नेपाल निर्वाचनको चटारोमा छ । सरकार, राजनीतिक दल र आम नागरिकको ध्यान पनि मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा छ । यसो हुनु स्वाभाविक पनि हो । निर्वाचन जनताका लागि हो । यो निर्वाचन आफ्ना प्रतिनिधि आफै चुन्ने अवसर पनि हो । त्यसैले अहिलेको निर्वाचनलाई सबैले महत्वका साथ लिएका छन् । यो उत्सवको समय पनि हो । तर अर्कोतर्फ देशले एकपछि अर्को गरी विपत्तिको नियति भोग्नुु परेको छ । कोरोना र डेंगु महामारी जस्ता विपत्तिको सामना गरिरेका आम नेपालीले फेरी मंगलबार भूूकम्पको सामना गर्नु प¥यो । मंगलबार राति पश्चिम नेपालको डोटीलगायत ठाउँमा शक्तिशाली भूकम्प गएको छ । यो निकै शक्तिशाली भूकम्प हो । यसको तरंग पश्चिम नेपालका प्रायः सबै ठाउँमा थाहा भएको छ भने पाल्पा, गुल्मीमा समेत महसुस भयो । यस भूकम्पबाट केही मानिसहरूको दुःखद् निधन भएको छ भने धेरै मानिस घाइते भएका छन् । अहिलेसम्म पनि यसका पराकम्प गइरहेका छन् । यस्ता घटना जहिले भए पनि पीडादायी हुुने गर्दछ ।

अझै निर्वाचनको मुखमै भएका यस्ता घटनाले थप पीडा थप्ने काम गर्दछ । यस्तो बेला कतै सरकार तथा रानजीतिज्ञहरूको ध्यान नपुग्ने पो हो कि भन्ने आंशक जन्माउने गर्दछ । यो स्वभाविक पनि हो । सबैको ध्यान निर्वाचनमै केन्द्रीत भएका बेला विपत्तितर्फ एकाएक ध्यान मोड्न सहज छैन । तर यसो भन्दै गर्दा सरकार र सम्बन्धित निकायलाई यी र यस्ता विषयमा भने त्यसै बसिरहन भने छुट छैन । २०७२ सालको महाभूकम्पको घाउ पुरिन पाउँदा नपाउँदै कोरोना महामारी फैलिन पुग्यो । पटक–पटक अनेकौं भ्यारियन्टको रूप धारण गर्दै एकपछि अर्को लहरका रूपमा फैलिएको कोरोनाका कारण नेपालमा धेरै मानिसले ज्यान गुमाउनु प¥यो । अहिले वातावरण सहज बनेको भए पनि कोरोनाको प्रभाव भने अझै निमिट्यान्न भइसको छैन । कोरोनाको कहर बाँकी छँदै पुनः डेंगुको संक्रमण फैलियो । डेंगुबाट पनि हजारौंको संख्यामा मानिसहरू प्रभावित भइरहेका छन् भने धेरैले ज्यान समेत गुमाए । मंगलबार गएको भूकम्पको प्रभाव भने ताजै छ । राजनीतिज्ञको ध्यान पनि निर्वाचन तिरै छ । त्यसैले भूकम्प प्रभावितको उद्दार र राहततर्फ ध्यान नपुग्ने हो कि भन्ने चिन्ता सबैमा छ । सरकारमा बसेका मानिस पनि निर्वाचनमा उम्मेदवार बनेका छन्, त्यो तिनको अधिकारको कुरा हो तर तिनको ध्यान निर्वाचनमा मात्र केन्द्रित हुनुहुँदैन । विपत्तिमा परेकाहरुको उद्दार राहतमा समेत उत्तिकै ध्यान पुुर्‍याउन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update