Shittalpati
विज्ञानसहितको शान्ति शिक्षा आवश्यक

हरेक वर्ष १० नोभेम्बरमा विश्वभर शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाउने गरिन्छ । यो दिवस सन् २००१ देखि मनाउन सुरु गरेको पाइन्छ । यो वर्षको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । वास्तवमा विज्ञानले नै जीवन सहज बनाउँछ । यस कुरालाई हृदयगत गरी संयुक्त राष्ट्रसंघले यो दिवस मनाउन सुरु गरेको हो । सम्पूर्ण प्राणीको जीवनमा विज्ञानको महत्वपूर्ण भूमिका हुन्छ । समाजको सकारात्मक परिवर्तन अर्थात् विकास आममानिसको चाहना हो । यही आवश्यकतलाई परिपूर्ति गर्न दिगो शान्ति र विकासको माध्यमद्वारा वातावरणीय संरक्षण गर्दै नवीनतम् विज्ञान र प्रविधिद्वारा समुन्नत समाज निर्माणमा २१ औं शताब्दीको विश्व अघि बढिरहेको छ । यही मानवीय र सामाजिक आवश्यकतालाई परिपूर्ति गर्न यो दिवसले महत्वपूर्ण टेवा पुर्‍याउँछ ।

दिवसले विश्वका सबै राष्ट्रमा सामाजिक लाभका लागि विज्ञानको प्रयोग, विज्ञानको उपयोगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू नविकरण होस्, विज्ञानले सामना गरिरहेको महत्वपूर्ण चुनौतीमा जानकारी होस् भन्ने उद्देश्य राखेको हुन्छ । युद्व ग्रसित क्षेत्रका वैज्ञानिकहरूलाई विश्वका अन्य वैज्ञानिकसँग संगठित गर्दै लैजानु पनि यो दिवसको उद्देश्य हो । विज्ञानकै माध्यमद्वारा वर्तमान समाजलाई सु–सूचित गराउँदै प्रविधिमूलक शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्र समृद्धि हासिल गर्नु गराउनु यस दिवसको प्रतिकात्मक सन्देश पनि हो । पछिल्लो समय वैज्ञानिक प्रगतिलाई उचित तरिकाले उपयोग गर्न नसकेकै कारणले विश्वका कतिपय मुलुकमा राजनीतिक भविष्य अन्यौलमा परेको छ । मुलुकको ध्रुवीकरण र विज्ञानको गलत प्रयोगले मानव अधिकारको हनन् र आतंकवादको श्रृंखला समेत बढेका छन् । यसका लागि शान्ति शिक्षा व्यक्तित्व तथा चरित्र निर्माणका लागि विद्यालय तहबाटै पाठ्यक्रम निर्माण गर्नुपर्छ । आज हाम्रो देश नेपालमा पनि शान्ति शिक्षासम्बन्धी पाठ्यक्रम राख्ने बहस नचलेको भने होइन, यो बहस बहसमा मात्र सीमित भएको छ । अहिलेको आवश्यकता विज्ञानसहितको शान्ति शिक्षा हो । तसर्थ शान्ति शिक्षाका लागि विद्यालयका विद्यार्थीहरूलाई शान्तिको मार्ग दिन सक्ने विज्ञानसहितको सशक्त पाठ्यक्रम बनाउने दिशामा सबैले सोच्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update