Shittalpati
चुनावी प्रतिस्पर्धात्मक

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब तीन साता पनि बाँकी छैन । चुनावको मिति नजिकिँदै जाँदा चुनावको माहोल तातेकोे छ । राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ताहरू मतदाताको घरघर पुगिरहेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका उम्मेदवारले आम मतदातालाई अनेक आश्वासन बाँडिरहेका छन् । उनीहरुले आ–आफ्ना दलका घोषणापत्र धमाधम सार्वजनिक गरिरहेका छन् । यो निर्वाचनको प्रतिस्पर्धाको परम्परामा अस्वाभाविक होइन । आफ्नो दलले विजय गरेका खण्डमा आगामी पाँच वर्षमा आफूले तथा आफ्नो दलले यस्ता–यस्ता काम गर्नेछौँ भनेर प्रस्तुत गर्ने प्रतिज्ञापत्र वा प्रतिवद्धतापत्र हो घोषणापत्र । त्यसकारणले गर्दा पनि घोषणापत्र सार्वजनिक गर्ने प्रचलन छ । चुनावी प्रतिस्पर्धामा यो प्रचलनलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । तर नेपालमा दलहरूका घोषणापत्र हेरेर, त्यसको अध्ययन गरेर र त्यसमा लेखिएका कुरामाथि विश्लेषण गरेर मत दिने प्रचलन भने छैन । जसले गर्दा उम्मेदवारहरूबीचको प्रतिस्पर्धात्मक माहोल निकै पेचिलो बन्ने गर्दछ । निर्णायक मत कहाँ जान्छ भन्ने अनुमान र आँकलन गर्न नै सकिदैन । आसन्न निर्वाचन पनि यस्तै बनिरहेको छ । निर्वाचन मिति नजिकिदै गर्दा दल र उम्मेदवाहरु बिचको चुनावी प्रतिस्पर्धा निकै नै पेचिलो बन्दै गएको छ ।

सत्ता गठबन्धनको नेतृत्वकर्ताको हैसियतले नेपाली कांग्रेस अबको दिनमा सरकार गठन गर्नसक्ने हैसियतमा पुग्न निरन्तर कसरत गरिरहेको छ । नेकपा एमालेले पनि अहिलेको निर्वाचनमा धेरै स्थानमा विजय प्राप्त गर्ने र एमालेको सरकार निर्माण हुने अपेक्षा व्यक्त गरिरहेको छ । यसको अर्थ यो पनि हुन्छ कि, निर्णायक मत सत्तापक्ष वा प्रतिपक्ष कसले आपूmतिर ढल्काउन सक्ने हो, जित उसकै देखिन्छ । अहिले, दलहरूको वैचारिक टक्कर देखिँदैन तर जनतामा सपना कसले कति बाँड्ने भन्ने होड भने देखिन्छ । जसले गर्दा चुनावी माहोल निकै नै प्रतिस्पर्धात्मक बनेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update