Shittalpati
सहरीकरण दिवसको सन्दर्भ

आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाइंँदै छ । संयुक्त राष्ट्रसंघले अक्टोबर ३१ लाई विश्व सहरीकरण दिवस मनाउने निर्णय गरेअनुसार नेपालले पनि हरेक वर्ष यो दिवस र यससँग सम्बन्धित विविध गतिविधि गर्दै आएको छ । साधारणतया ग्रामीण र सहरी भनेर मानिसले बसोबास गर्ने क्षेत्रलाई विभाजन गर्ने प्रचलन छ । तुलनात्मक रूपमा भौतिक सुविधा प्राप्त हुने क्षेत्र शहर हो भने त्यसको विहीनता ग्रामीण क्षेत्र हो । सुरुमा सारा विश्व गाउँ थियो भने अहिले विश्वको सहरीकरण हुँदैछ । सहरीकरण हुनु भनेको विकासको गति वृद्धि भएको मानिन्छ । जहाँ सहर भैसकेको छ त्यहाँ बसाई सराई र बस्तीको विकास बढ्दो छ । पहाडी ग्रामीण क्षेत्र भने मानवविहीन अवस्थामा पुग्न लागेको छ । यसले गर्दा शहरमा दिन–प्रतिदिन समस्या पनि थपिँदै गएको छ । उचित व्यवस्थापन, असल नीति र परिवर्तनशील योजनाहरु नहुँदा यसले शहरी भेगमा वतावरणीय असर र अब्यवस्थित बसोवास फैलन थालेको छ । ग्रामीण परिवेशबाट बाहिर निस्की रहेको विश्वले अब भने गम्भीर भएर सोच्नै पर्ने भएको छ । कार्वन उत्सर्जनले विकराल रुप लिइरहेको समयमा जलवायु परिवर्तनका साथै जीव चक्रमा पनि नकरात्मक असर पर्दै गएको छ ।

सहरीकरणको कुरा हुँदा जनसंख्याको कुरा पनि आउने गर्दछ । आज सहरीकरणको नाममा पहाड र हिमाली भेगमा भन्दा तराई क्षेत्रमा जनसंख्या वृद्धि भएको छ । मुलुकमा क्षेत्रगत हिसाबमा तराईमा जनसंख्याको अत्यधिक चाप देखिएको छ । यसरी बढेको जनसंख्याले सहरीकरण त भएको छ तर आधारभूत विकास भने पछाडी परेको छ । कुनै पनि काम योजनाबद्ध हिसाबले नगरिने परिपाटी रहेको मुलुकमा सहरीकरण पनि अन्य क्षेत्र जस्तै अव्यवस्थाको सिकार बन्न बाध्य छ । यसर्थ विश्व सहरीकरण दिवसले सहरलाई व्यवस्थित बनाउने बाटोमा अगाडि बढाउन सके मात्र यसले साथर्कता प्राप्त गर्न सक्छ । अन्यथा दिवस औपचारिकतामा मात्र सिमित बन्न पुग्छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update