Shittalpati
योजना समयमै सकौं

हरेक सरकारी निकायहरुमा योजना निर्माण गरिन्छ । विशेषतः ति योजना दीर्घकाली र अल्पकालीनका हुुने गर्दछन् । योजना निर्माण गरिए पनि कार्यान्वयनको चरण भने नेपालमा अत्यन्त कमजोर र ढिला सुुस्ती हुने गर्दछ । कुनै पनि विकास निर्माणका योजना निर्माण भएको वर्षौं वा दशकौंसम्म पनि त्यसले मूर्त रूप प्राप्त नगर्नु नेपालीको विशेषता हो । कयौं वर्षसम्म त योजनाहरू नेताकै भाषणमा सीमित हुन्छन् । तिनले कागजमा पनि मूर्त रूप प्राप्त गर्न सक्दैनन् । यस्ता विषयलाई नेताहरूले चुनावी नारा बनाउँछन् र त्यही नाराका भरमा चुनाव जितिरहन्छन् । त्यसपछि बल्ल योजनाले कागजमा ठाउँ पाउँछ । केही योजनाले सुरु भएको वर्षौंपछि पूर्णता पाउँछन् भने कतिपय योजना सुरु त हुन्छन् तर ती योजना कहिल्यै पूरा हुँदैनन् । यो अत्यन्त दुखद् हो ।

खासगरी स्थानीय निकायहरुले दीर्घकालीन रूपमा योजना नबनाउने तर अल्पकालीन योजनाहरू मात्र बनाउने प्रचलन बढी छ । त्यसमा पनि अल्पकालीन योजना बनाउने तर कार्यान्वयन पक्षमा ध्यान नदिने गर्दछन् । सुरु गर्दा निकै हौसने र पछि त्यसलाई निरन्तरता नदिने नेपालको विकासे प्रवृत्ति निकै मौलाएको छ । खास गरी सडक निर्माणका योजनाहरुमा ढिला सुस्ती हुुने गर्दछ । एक दुुई वर्षमा सक्नुपर्ने योजनाहरु चार÷पाँच वर्ष हुँदा समेत नसकिनु विडम्वना हो । त्यति मात्र होइन वर्षको आठ महिनासम्म विकास बजेट खर्च गर्ने मामलामा मौनता साध्ने र वर्षको अन्त्यमा हतारको योजनाहरु सक्ने विडम्बनापूर्ण शैली नियन्त्रण नहुनु दुर्भाग्य हो । यो विकासका दीर्घकालीन रणनीति र सोचको अभाव टड्कारो रूपमा खट्किँदाको परिणति हो । नेपालमा राजनीतिक अस्थिरता, प्रशासनिक संयन्त्रभित्रको बढ्दो भ्रष्टचार, नीतिगत कुरा तथा बजेट अभावका कारण नेपालमा योजनाहरु समयमै हुन सकेका छैनन् । यी कुराहरुको सुधार नभएसम्म नेपालले विकासको गतिमा फड्को मार्न सक्दैन ।
तसर्थ कार्यान्वयनमा आएका योजनाहरु समयमै सक्नेतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update