Shittalpati
लगानीकर्तालाई प्रोत्साहन गरौं

भविष्यको प्रतिफलको लागि कुनै योजनामा आफ्नो धन लगानी गर्ने ब्यक्ति वा संस्थालाई लगानीकर्ता भनिन्छ । लगानीकर्ताले विभिन्न तरिकाबाट संस्था वा कम्पनी वा वित्तीय संयन्त्रहरूमा लगानी गर्न सक्दछ । तर नेपालमा सरकारले लगानी सम्बन्धी विभिन्न ऐन–कानुन संशोधन गरेर लगानी गर्न नसक्ने वातावरण नै सिर्जना गर्ने गरेको छ ।

बेलामा बेलामा लगानीकर्ताहरु सरकारको निर्णयप्रति आन्दोलित हुन बाध्य छन् । देशको आर्थिक विकासका लागि लगानी कर्तालाई धेरै भन्दा धेरै लगानी गर्न सक्ने वातावरण सिर्जना गरिनुु पथ्यो तर सरकारले नै उनीहरुलाई निरुत्साहित गराउने गरेको छ । यो विडम्वनाको कुुरा हो । यहाँ न बाहिरबाट आएर लगानी कर्ताहरु लगानी गर्न सक्छन् नत स्वदेशका लगानी कर्ताले नै । अनि कहाँबाट देशमा समृद्धि र विकास हुन्छ ? यस विषयमा सरकारले आफैंले आफ्नो समीक्षा गर्नु आवश्यक छ । त्यसका साथै, भारतका पनि नाम चलेका अर्बपतिहरू किन नेपालमा लगानी गर्न आइरहेका छैनन् ? यस प्रश्नको उत्तर सरकारले गम्भीरतापूर्वक खोज्नु आवश्यक छ । अन्यथा छिमेकी भारतका अर्बपतिहरू विश्वभर आफ्नो लगानी विस्तार गर्ने क्रममा रहेका छन् । तर, नेपालमा उनीहरू लगानी गर्न किन अनिच्छुक भएका हुन् भन्ने सरकारले जबसम्म रहस्य पत्ता लगाउन सक्दैन, तबसम्म नेपालमा विदेशी लगानीको जति धेरै चर्चा गरे पनि यसको प्रतिफल भने देखिने गरी आउन सक्दैन ।

नेपालमा हाल जति विदेशी लगानी आइरहेको छ, त्यो वास्तवमा अत्यन्त सानो हिस्सा हो । नेपालमा आउने अनुदान लगातार घट्दै गइरहेको तर ऋण भने बढ्दै गइरहेको तथ्यका बीच सन्तुलन कायम गर्न नेपालमा वैदेशिक लगानी बढाउनुको विकल्प छैन । वैदेशिक लगानी बढ्दा मुलुकभित्रै सम्मानजनक रोजगारी पनि बढ्ने अनि रेमिट्यान्समा आधारित अर्थतन्त्र विस्तारै आत्मनिर्भर अर्थतन्त्रतर्फ परिवर्तन गर्न सहज हुने हुन्छ । अन्यथा युवा निर्यात गरेर रेमिट्यान्सद्वारा प्रवद्र्धित आयातमुखी अर्थतन्त्रको संरचनाले दीर्घकालीन रूपमा नेपाली अर्थतन्त्र झन् पराधीन हुँदै जाने देखिन्छ । अर्थतन्त्र पराधीन रहँदा मुलुक स्वाधीन हुँदैन । आजको युगमा कुनै पनि मुलुक स्वाधीन हुन पहिला अर्थतन्त्र स्वाधीन हुनुपर्छ, जसका लागि नेपालभित्र धेरै लगानीको आवश्यकता छ । लगानी बढाउन सरकारले बजार घटेका बेला लगानीकर्ताको मनोवल गिर्न दिनु हुँदै । बरु उनीहरुलाई आकर्षित गर्न प्रोत्सानह नीति ल्याउन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update