Shittalpati
दलित भएकै कारण अपमानित हुन नपरोस्

नाम नै व्यक्तिको परिचय हो । व्यक्तिको परिचयका लागि हरेक व्यक्तिले सम्बन्धित देशको नागरिकता पाउने गर्छन् । नागरिकतामा उसको नामसहित सम्पूर्ण परिचय खुल्ने विवरण उल्लेख गरिएको छ । नाममा व्यक्तिको आत्मसम्मान पनि जोडिएको हुन्छ । नामले व्यक्तिलाई पहिचान दिन्छ । तर केही त्यस्ता व्यक्तिहरुलाई अपमानित ढंगले नागरिकतामा नाम उल्लेख गरिदिएको पाइएको छ । पछिल्लो समय केही व्यक्तिहरुलाई दलित भएकै कारण अपमानित ढंगले नागरिकतामा नाम राखेको पाइएको हो । आम रूपमा चलनचल्तीका नामहरूमा दलितका हकमा एकार लगाइदिनु त सामान्यझैं भैहाल्यो, आफ्नो परिचय दिन पनि लाज लाग्ने गरी कसैलाई जनावरको नाम दिइनु र कसैलाई फोहोरी मानिसलाई भनिने संज्ञारु दिनु उनीहरु माथिको अपमान हो । फ्याउरो बादी, सिँगाने कामी, कुत्ता बादी, कुकुर्नी कमिनी, कुकुर कामी जस्ता नामहरु लेखेर नागरिकता दिइएको फेला परेको छ । यि त केही प्रतिनिधि मात्र हुन् । दलित भएकै कारण यस्ता कयौं अपमानजनक नाम थोपरिएको छ, यो गलत हो ।

त्यतिबेलाको राज्य संयन्त्र, त्यसका प्रतिनिधिहरूको हैकम र सीमान्तकृत वर्गमाथिको थिचोमिचोको दृष्टान्त हो यो । पञ्चायतपछि पनि त्यस्तो हैकम र कथित उच्चजातीय अहंकारवाला दम्भ निरन्तर छ । उनीहरु अनपढ भएकैले कर्मचारीले जे थमाइदिए, पहिचानको त्यही कागज लिन बाध्य भए । सामान्यतया कसैको व्यक्तिगत, पारिवारिक, सांस्कृतिक र ऐतिहासिक परिचय बोक्ने औपचारिक नाममै भएको यो खेलबाडबाट उनीहरूको व्यक्तिगत मर्यादा तथा भावनामाथि मात्र चोट पुगेको छैन, हाम्रा राज्य संरचनाहरूको चरम असंवेदनशीलता र घृणित हर्कत पनि उदांगिएको छ । केही थोरै व्यक्तिहरूका नाममा मात्र यस्तो हुन्थ्यो भने पनि त्यसलाई नागरिकता वितरण प्रणालीमा आवद्ध एकाध व्यक्तिको गैरजिम्मेवारी वा हेलचेक्य्राइँ मान्न सकिन्थ्यो, तर यहाँ त ठूलो संख्यामा दलितलाई नागरिकताको नाममार्फत बदनाम गरिएको छ । यो सरासर दलित वर्ग माथिको अपमान हो । यो अपमान गर्ने प्रवृत्ति जसरी पनि रोकिनैपर्छ । अब बन्ने नागरिकताका सवालमा सिफारिस गर्ने वडा÷स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिदेखि नागरिकता प्रदान गर्ने जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूसम्म यसबारे सचेत, सतर्क र संवेदनशील बन्नैपर्छ । तसर्थ कोही पनि व्यक्ति दलित भएकै कारण अपमानित हुन नपरोस् ।

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update