Shittalpati
साँस्कृतिक सहर तानसेन

मदन देउराली
तानसेन पाल्पा जिल्लाको सांस्कृतिक सहर । यो सहर काठमाडौं उपत्यका पछिको दोश्रो स्थानमा पर्ने सांस्कृतिक सहर हो । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिन सम्म यहाँ जात्रा चाडपर्वहरु भई रहन्छन् । त्यसैले पनि यसलाई जिल्ला भित्रको सांस्कृतिक सहर भनिएको हो । काठमाडौं उपत्यकामा थुप्रै जात्रा चाडपर्वहरु मनाइन्छ जसको आ–आफनै विशेषताहरु छन् । कुनै –कनै जात्राहरु त अचम्मका पनि छन् जुन जमानादेखि यद्यापि चल्दै आएका छन् । जस्तै गहनापोखरीको जात्रा । यस जात्रामा पोखरी भित्र रथलाई लगिन्छ र पोखरीमा गहना खोजिन्छ । कुनै जमानामा त्यहाँ गहना भेटाईएको थियो होला त्यो गहना खोज्ने परम्परा यद्यापि अझै छ । अर्को जात्रा हो पोखरीमा जिउँदो बाख्रा फ्याकिन्छ । स्थानीयहरुको हुल सो पोखरीमा पसि सो जिउँदै बाख्रालाई दाँतले तानातान गरी च्यात्छन् । अर्को जात्रा हाँडिगाउँको जात्रा । हामी कोमा देवता राख्ने रथ सुल्टो राखी जात्रा चलाइन्छ तर हाँडिगाउँमा हाम्रो जस्तो रथ हुँदैन । गोलो आकारको ठूलो रथलाई उल्टो गरी त्यो उल्टो भागमा देवता राखी पूजा गरिन्छ । त्यसैले त एउटा उखानै छ कही नभाको जात्रा हाँडी गाउँमा । कस्तो अचम्म मानिसहरुको जात्रा मनाउने तरिका पनि ।

तानसेनमा मनाइने जात्राहरुको पनि आफ्नै तरिकाहरु छन् । घण्टाकर्णबाट नेवारी चाड शुरु हुन्छ । पहाडी भुबनोटका कारण यहाँ मनाइने जात्राहरु सबै रथमा बोकेर मनाउनुपर्छ । यस्ता रथहरु दुई वा तीन तलाको बनाइएको हुन्छ । सम्बन्धित देवी देवताको प्रतिमूर्तिलाई रथमा राखी कुनै सात आठ जनाले बोकेर कुनै तीस चालिस जनाले बोकेर नगर परिक्रमा गराइन्छ । धेरैजसो जात्रा चाडपर्वहरु नेवार समुदायले नै पहिलेदेखि नै मनाउँदै आइरहेका छन् । पाल्पाका अन्तिम सेनराजा पृथ्वीपाल सेनको काठमांडौमा हत्या गरिए पछि पाल्पा नेपाल राज्यमा विलय भएको थियो । त्यसपछि पाल्पा आउने तैनाथवालाहरुले तानसेनमा विभिन्न मठमन्दिरहरु बनाउन काठमाडौ उपत्यकाबाट थुप्रै नेवार बौद्ध, हिन्दू कालिगढहरु यहाँ मगाए । पहिलो तैनाथवाला अमरसिंह थापाले अमरनारायण मन्दिर, अमरेश्वर महादेव मन्दिर, अमर विनायक मन्दिर आदि बनाउन लगाए भने कर्णेल उजिरसिंह थापाले श्री रण उजीरेश्वरी भगवती मन्दिर बनाउन लगाए भने कतिपय मन्दिर आफ्नो टोलको अनुकुल मिल्ने गरी स्थानीयहरु आफै–आफै बनाएको देखिन्छ । पछि ति कालिगढहरु यही स्थापित भए र आफुहरुले उपत्यकामा मनाइरहेका करिब–करिब सबैजसो जात्रा चाडपर्वहरु यहाँ पनि स्थापित गराए । जसले गर्दा तानसेन सांस्कृतिकमय भयो । वर्षभरि नै जात्रा चाडपर्व हुन थाल्यो । यस्ता जात्रा चाडपर्वहरु सबै ठ्याक्कै उपत्यकामा भए जस्तो भएनन् अलि फरक तरिकाबाट हुन थाल्यो भने कतिपय जात्रा चाडपर्वहरु आफ्नै मौलिक तरिकाबाट पनि मनाउन थाले । जुन देशका अरु कतै नभएका भए । काठमाडौंका नेवारहरु खेतिपातिमा व्यस्त हुन्थे भने यहाँ आएका नेवारहरुले व्यापार व्यवसाय गर्न थाले ।

तानसेन पश्चिम क्षेत्रको गुल्मी, अर्घाखाँची, बागलुङ, रुकुम सम्मका व्यापारिक थलो बन्यो । विशेष गरेर गाउँघर तिरबाट घिउ जडिबुटी आदि लिएर आउँथे भने उनीहरुलाई चाहिने नुन तेल, लत्ताकपडा मरमसला, तमाखु यहाँबाट जान थाले । बजारको टोल–टोलमा कतै घीउ खार्दै गरेको बासना त कतै ठूला–ठूला फलामे कँराहीमा खुदो पकाई त्यसमा सुकेको सूर्तिको पात लाई सानो–सानो टुक्रा काट्दै पकाउँदै गरेको तमाखुको बास्नाले बजार नै सुगन्धित हुन्थ्यो । दिनभरी व्यापारिक काममा व्यस्त भए पनि साँझपख मनोरञ्जन गर्न पनि स्थानीयहरु टोल–टोलमा जम्मा भई शास्त्रीय ंसंगीतमा आधारित गान बजानमा मस्त हुन्थे त कतै गीत गोविन्द भजन चल्दै गथ्र्यो । महिना तिथि अनुसार विभिन्न वर्ष भरि नै जात्राहरु हुन्थ्यो । रथयात्रासंगै मृदंग ढोलक, ता (सानो झयालीकोे) साथमा शास्त्रीय संगीतमा आधारित भजन गाउँदै नगर परिक्रमा हुन्थ्यो । घर–घरबाट पूजा दिने चलन थियो । कसै कसैले देवी देवतालाई आफ्नो घर अगाडि रथमा बोका बलि चढाउँथे । जात्राको बेला घर–घरमा लामा लामा कागजमा बनाइएका धूप बत्ति बालिन्थ्यो । धूपको सुगन्धले टोल नै सुगन्धमय हुन्थ्यो । यसरी रथलाई नगर पूरा परिक्रममा गर्ने चलन उपत्यकामा छैन । अहिले पनि यहाँ सबैजसो जात्राहरु भजन भण्डली सहित रथयात्रा गर्ने चलन सानै रुपमा भए पनि चल्दैछ । प्रत्येक वर्ष तिथि मिति अनुसार साउन वा भदौ महिनामा गुनु पुन्ही अर्थात् नौ दिनको पूर्णिमा भनेर यहाँ नौ दिनसम्म लगातार जात्रा मनाइन्छ जुन अरु कतै गरिदैन । यस अवधिमा हुने जात्राहरुको पनि आफ्नै मौलिकता रहेको छ । जस्तो जनै पूर्णिमाको पहिलो दिन मृतक परिवारको घरबाट परिवारका कोही सदस्य आफूलाई विरुप हुने गरी सिगारेर थोत्रो टिन लतादै नगर परिक्रमा गर्छन् र तानसेन दरबार भित्र लैजाने गरिन्छ । आफ्ना मृतक सदस्यलाई बाटोमा कसैले अवरोध नगरोस् भनेर गरिएको भनिन्छ । एउटा अनौठो चलन हो । भोलिपल्ट जनै पूर्णिमा पर्छ । यस दिन यहाँको मौलिक परम्परा हुन्छ त्यो हो चुइकि । यो चलन अन्त कतै छैन ।

यो वास्तवमा सो वर्ष मृत भएका परिवारलाई यमराजको सन्देश सुनाउने हो । यसमा करिव पन्ध्र बिसको जनाको समूह विभिन्न हाँस्यात्मक भेषभूषामा कोही महिलाको रुपमा ढोलक, झ्याली, मुसल, लटाई आदि लिएर नगर परिक्रमा गर्छन् । सो टोलीका नाइकेले बजारको चोक चोकमा अडि गाइजात्राको दिन मृतक घर–घरबाट बासा, जोगी सकली वा नक्कली गाई बनाएर निर्गुण, भजन, रामायण सहित यमराजको दरवारमा हाजिर हुनु भन्ने सन्देश हाँस्यात्मक पारामा सुनाउँदै हिड्छन् । यस दिन तानसेन बजारमा अवस्थित पाल्पा दरवारलाई यमराजको दरबार मानिन्छ । त्यसैले कुनै पनि जात्रा दरवार भित्र लैजानै पर्छ । यो पुरानो चलन हो । हुन त यस दरबारमा पहिला तैनाथवालाहरुको निवास भएकाले आफ्ना परिवारहरुको मनोरञ्जनका लागि पनि यो चलन चलाएको होला तर यसलाई यमराजको दरवारको रुपमा आजसम्म पनि मानिन्छ । गाइजात्राको दिन विहानदेखि नै जोगी निर्गुंण भजन सहितको वासा, जिउँदो गाइ र दिउँसो बाँसको गाइको शरीरको आकार बनाई माथिबाट कालो कम्बलले छोपी मुख पनि कोर्कोको गाइको जस्तो बनाई करिव आठ दश जनाले बोकी हाँस्यात्मक पारामा ल्याइन्छ । अर्को भनेको ताहामचा जुन एउटा डोको घोप्टाई त्यसमाथि लामो बाँसको क्रस जस्तो बनाईन्छ । त्यसमा कपडाले बेरी हातमा मृतक महिलाको कपडा झुण्डाई बाँसको कोर्कोेको मुख बनाई एकजना डोको भित्र बसि बोकेर निर्गुण भजनसँग घुम्छन् । हुन त नककली गाइ मृतक पुरुष र ताहामचा मृतक महिलाको सम्झनामा बनाइएको भनिन्छ । हाम्रो गाउँघर तिर ताहामचालाई नचाउँदै डुलाउँछन् तर तानसेनमा त्यसो गरिदैन । यो पनि तानसेनको आफ्नै मौलिक चलन हो । गाजा बाजा सहित बीस पच्चिसको टोलीले भजन निर्गुंण वा रामायणमा संसार क्षणभंगुर छ त्यसैले भगवानको भक्तिभाव राखौं भन्ने सन्देश गाउँदा नगर परिक्रममा गर्दछन् । आजकाल धेरै खर्चिलो भएकाले रामायण निकाल्ने चलन हराई सक्यो निर्गुण भजन विहान दिउँसो निकाले पनि रामायणमा गायकहरु सबै सेतो पहिरनमा हार्विन तवलसँग गाउँदै राति मात्र निकालिन्छ र रातभर गाउँदै बजार परिक्रममा गर्दछन् । हुन त आजकाल निर्गुण निकाल्न पनि छोडिसके बढी खर्चिलो भएर । त्यसैले कसैले साउण्ड सिस्टममा हे राम भन्ने भजन बजाउँदै परिक्रमा गर्दछन् । यसरी तानसेनबाट विस्तारै मौलिकता लोप हुँदै गईरहेका छन् । यसरी गाइ बासा भजन निर्गुण निकालने चलन केवल हिन्दू धर्मावलम्बीहरुले मात्र गर्दछन् । बौद्ध परम्परामा यस्तो गर्न पर्दैन । अर्को दिन रोपाइ जात्रा हुन्छ ।

हाम्रा गाउँघरतिर कसरी रोपाइ गरिन्छ भनेर नजिकका गाउँहरुबाट चालिस पचासको टोली नै रोपाइँको विभिन्न भेषभूषामा तानसेन बजारमा रोपाइँ गर्दछन् जुन अत्यन्त मनोरञ्जन हुन्छ । यसको अर्को दिन बाघ जात्रा हुन्छ । अरु ठाउँहरु भन्दा यहाँको बाघजात्रा फरक हुन्छ । हुन त पहिला–पहिला बाजाको तालमा बाघ र शिकारीको रोमाञ्चक नाच हुन्थ्यो तर आजकाल यसो गरिदैन केवल बाघ बनाइन्छ र बजार परिक्रमा गर्छन् । यही दिन कहिले श्रीनगरस्थित भगवान श्री सिद्धि विनायक गणेशको जात्रा पनि हुन्छ । अर्को दिन टक्सारटोल स्थित श्री सूर्य विनायक गणेशको जात्रा हुन्छ भने अर्को दिन भीमसेनटोलस्थित भीमसेन जात्रा हुन्छ । नेपाल अंगे्रज युद्धमा विजय हासिल गरेको उपलक्ष्यमा जन्माष्टमीको दिन मध्य रातमा श्री रण उजीरेश्वरी भगवती माताको प्रतिमूर्ति मन्दिर बाहिर ल्याइ रथमा राखिन्छ । यही राती घण्टाकर्णको दिन जन्मेको लाखेलाई मध्ये रातमा मारिन्छ । भगवानको भजन गरिन्छ । भक्तजनहरुको भीड हुन्छ रातभरी । अर्को दिन पाल्पा जिल्लाको सबैभन्दा ठूलो जात्रा श्री रण उजीरेश्वरी भगवतीको जात्रा सम्पन्न हुन्छ । कुनै दिन अमरनारायणको जात्रा र भगवती जात्र एकै दिन पर्दछ भने कुनै दिन अर्को दिन पर्दछ । यसरी नौ दिनसम्म लगातार जात्रा हुने सहर हो तानसेन जसको आफ्नै मौलिकता छ । अस्तु !
(लेखक देउराली सास्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update