Shittalpati
साउन पन्ध्रको महत्व

हरेक वर्ष साउन १५ गते खिर खाने प्रचलन रहेको छ । आइतबार पनि खिर खाएर रमाइलो पर्वकै रुपमा मनाइएको छ । वर्ष भरी कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खिर पकाई आपसमा बाँडेर खाने चलन छ । असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खिर खाने चलनको विशेष सांस्कृतिक महत्व छ । साउन महिनाभर खिर खानु राम्रो हुने विश्वास नेपाली समाजमा रहेको छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खिर खाने परम्परा रहँदै आएको हो । साउन महिना वर्षात समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि यो खाने प्रचलन बसेको हो । खिरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने हुँदा कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध शरीरलाई तन्दुरुस्त राख्न खिर समेत उपयोगी हुन्छ । गोठ धुुप, देव र पितृ कार्यमा पनि खिर पाक्ने हुुँदा सांस्कृतिक रूपम खिरलाई पवित्र भोजनको रुपमा लिइन्छ । कृषिप्रधान देश नेपालका लागि यसदिनले सर्वाधिक महत्व राखेको पाइन्छ ।

प्रत्येक वर्ष आउने आजकै दिनलाई विशेष महत्वका साथ लिने गरिन्छ । असार–साउनको महिना सदैव किसानहरुका लागि गौरव र प्रतिष्ठाको विषय पनि हो, जुन जीवनको आधारकै रुपमा अघि बढेको पनि छ । असार १५ र साउन १५ लाई दहीचिउरा र खिरको सांस्कृतिक बिम्बले समेत बाँधेको छ । कृषकले धान रोपेर काम सकेपछि खुशियाली स्वरूप खिर खाने परम्परा आफैमा राम्रो हो । तर बेलैमा पानी नपर्नु र पानी परेर समयमै धान रोपे पनि त्यसपछि पानी नपर्ने समस्याले भने कृषकलाई अलि नमजा भने लाग्ने नै गर्छ । यस वर्ष पनि हर्षउल्लासका साथ साउन १५ मनाइए पनि अधिकांश स्थानमा पानी नपरेकै कारण खेतहरु धजा–धजा भएका छन् । हरेक वर्षमा जस्तै यसवर्ष पनि साउन १५ लाई लिएर देखिनुपर्ने सरोकार र चासोमा भने निकै कमी आइरहेको पाइए पनि यो दिनले बोक्ने सन्दर्भ भने ओझेल पर्न सक्दैन । घरमा परिवार र साथीभाइहरु मिलेर रमाइलोका साथ खिर खाँदै रमाउने र आनन्द लिनुले नेपाली संस्कृतिको अभिन्न हिस्साकै रुपमा रहिरहेकै छ ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update