Shittalpati
शैक्षिक गुणस्तर वृद्धिमा गम्भीर बन

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित भएको छ । प्रकाशित परीक्षाफलमा शिक्षाको गुणस्तर निकै खस्किएको देखिएको छ । विगतका वर्ष र यो वर्ष आएको परीक्षाफलको गुणस्तर तुलना गर्दा धेरै फरक पाइएको छ । नतिजामा गत सालभन्दा यो साल गुणस्तर निकै खस्किएको छ । अघिल्ला वर्षको तुलनामा परीक्षाको नतिजामा उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्यामा अहिले निकै कमी आएको हो । यसले शिक्षा क्षेत्रमा धेरै ठूला प्रश्न उब्जाएको छ । कोरोना महामारीअघिको भन्दा पनि कम जीपीए आएकाले पढाईको स्तर खस्किएको देखिएको छ । कोरोना महामारीबीच विद्यालय आफैले सञ्चालन गरेको परीक्षामा जथाभावी नम्बर दिएको यसपालीको नतिजाले छर्लङ्ग पारेको छ । २०७५ सालमा ३ दशमलव ६ देखि ४ दशमलव शून्य जीपीए ल्याउने विद्यार्थीको संख्या ३ दशमलव ८३ प्रतिशत रहेको थियो भने यो वर्ष ३ दशमलव ६ देखि ४ दशमलव शून्य जीपीए ल्याउने विद्यार्थीको संख्या १ दशमलव ९४ प्रतिशतमा सीमित बनेको छ । यो भनेको २०७५ सालको तुलनामा ५० प्रतिशतले कमी हो । गुणस्तरहीनताको अर्को परिणाम भनेको तल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या अत्यधिक रहन पुगेको छ ।

हरेक वर्ष खस्किँदै गएको शैक्षिक गुणस्तर यो वर्षसम्म आइपुग्दा निकै तल्लो स्तरमा पुगेको छ । यसले विद्यार्थीको मनोविज्ञानमा समेत गहिरो असर पुर्याएको छ । कोभिड महामारीको बहानामा आन्तरिक मूल्याङ्कन भन्दै भद्रगोल तरिकालाई अनुसरण गरिएको प्रमाण अहिलेको परीक्षा नतिजाका कारणसमेत प्रकट भएको छ, जसले सही किसिमको शिक्षा पद्धति देशमा अभ्यासमै नरहेको सन्दर्भलाई समेत बाहिर ल्याएको देखिन्छ । एसईई नतिजालाई हेर्दा गणित विषयमा धेरै विद्यार्थी समस्याग्रस्त रहेका देखिन्छन् । गणित विषयमा विद्यार्थी कमजोर देखिनुलाई सामान्यरुपमा लिन मिल्दैन । कोरोनापूर्वको समयभन्दा नतिजा धेरै खस्किएकाले महाव्याधिका असरका अलावा कतै परीक्षाका प्रश्नपत्रलाई अनावश्यक कठिन त बनाइएको थिएन भन्ने प्रश्न पनि उठेको छ, जुन शिक्षासँग सम्बद्ध संस्था र निकायले गम्भीरतापूर्वक यसको समीक्षा गर्न जरुरी छ । अब शिक्षामा गुणस्तर हासिल गर्नका लागि एउटा ठूलो जनजागरण ल्याउनु आवश्यक छ । यसले मात्र अहिलेसम्म उब्जिएका समस्याको चिरफार गर्न सक्छ । तसर्थ शिक्षाको गुणस्तर वृद्धि गर्नमा सबै पक्ष गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update