Shittalpati
बाघ दिवसको सन्दर्भ

हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउने गरिन्छ । बाघको अस्तित्व जोगाइ राख्न हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । जगंलको राजा भनिने बाघ सुगठित शरीर भएको बलियो र सुन्दर स्तनधारी जनावर हो । यो बिरालो परिवारको सबैभन्दा ठूलो प्रजाति हो । यो खाद्यचक्रको उपल्लो तहमा पर्छ । छालाको पहेंलो भुईमा काला पाटाहरुले बाघ आकर्षक देखिन्छ र प्रत्येक बाघमा पाटाहरु फरक–फरक हुन्छन् । यसका पञ्जा ठूला र बलिया हुन्छन् । यसको डोब पनि प्रत्येक बाघमा फरक–फरक हुन्छ । यी पाटा र पञ्जाका डोब नै बाघहरु बिचको फरक छुट्टयाउने संकेत हुन् । पाटेबाघ विश्वका १३ देशमा पाइन्छ । नेपालले वि.सं. २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ ।

मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा बाघको महत्वपूर्ण भूमिका रहने गर्दछ । तर पछिल्लो समय वन्यजन्तुमैत्री पूर्वाधार निर्माण नहुँदा वासस्थानमा आएको संकुचनका कारण र संख्यामा भएको वृद्धिले आहाराको खोजीमा बाघ मानवबस्तीसम्म पुग्दा मानवसँगको बढ्दो द्वन्द्व बाघ संरक्षणको प्रमुख चुनौती बनेको छ । बाघको आक्रमणमा परेर अहिले धेरैले ज्यानसमेत गुमाउन पुगेको तथ्याङ्कहरु बाहिर आइरहेका छन् । विशेषगरी, चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हाल बाघको आतंक सीमाहीनरुपमा बढ्दै गएको देखिन्छ । जसका कारण स्थानीयवासीहरुलाई त्यसले त्रसितसमेत बनाउन पुगेको छ । कहिले बाघले गम्भीररुपमा घाइते बनाउने त कहिले मार्ने नै गर्दा बाघको आतंक यसरुपमा बढ्दै जानु ठूलो चिन्ताको विषयसमेत बन्न पुगेको छ । निकुञ्ज ऐन कार्यान्वयनमा कडाइ नहुँदा बारम्बार आक्रमणका घटनाहरु त्यस क्षेत्रका बासिन्दाहरुले भोग्नु परिरहेको छ । यो अत्यन्त दुःखको कुरा हो । बाघले पर्यावरणीय र जैविक विविधतामा महत्वपूर्ण भुमिका खेल्ने भएकाले यसको उचित व्यवस्थापन गर्न सकेमात्र बाघ दिवस मनाउनुको औचित्य रहन्छ । अन्यथा दिवस औपचारिकतामा सिमित नहोला भन्न सकिदैन ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update