Shittalpati
भयावह बन्दै दुर्घटना

सडक दुर्घटना नेपालमा दिन प्रतिदिन बढिरहेका छन् । हरेक दिनजसो सवारी दुर्घटनामा यतिको मृत्यु भयो, यति घाइते भए भन्नेजस्ता खबर आइरहनु सामान्य विषय बन्दै गइरहेको प्रतित भएपनि त्यसले सवारी दुर्घटनाको भयावहतालाई भने कम गर्न सकिरहेको छैन । एक त दुर्घटना आफैंमा हृदयविदारक हुन्छ । दिनहुँ धेरैले दुःखद दुर्घटनामा परी अकालमा आफ्नो प्राणको आहुति गर्न बाध्य छन् । कतै चालकको लापरवाही त कतै साँघुरा सडक, दुर्घटनाको कारण जेसुकै भएपनि जसले आफ्नो आफन्त, नातागोता, इष्टमित्र, छोराछोरी, श्रीमान/श्रीमती गुमाएको छ, त्यसको पीडा सदा जीवनभरि नै उनीहरुको मनमा परिरहेको हुन्छ । आइतबार पनि पाल्पाको लघुवामा भएको बस दुर्घटनामा परी ६ जनाले अकालमै ज्यान गुमाउनु पर्यो भने १६ जना घाइते भए । सवारी दुर्घटनाकै कारण त्यत्तिका मानिसको मृत्यु हुनु भयावह स्थिति हो । यसले मुलुकमा यातायात कति जोखिमपूर्ण छ भन्ने छर्लङ्ग हुन्छ । सवारी दुर्घटना किन हुन्छ, सबैलाई थाहा छ । कसरी न्यून गर्न सकिन्छ, त्यो पनि सबैलाई थाहा छ । मुलुकमा सरकार छ, सवारी नियन्त्रण र त्योसँग सरोकार राख्ने सरकारी निकायहरु छन् । अनि, संगठित यातायात व्यवसायी पनि छन् । तर दुर्घटनाको समाधानतर्फ ध्यान नदिदा दुर्घटना असामान्य रूपमा सामान्य बन्दै गइरहेको छ । यो अत्यन्त दुःखको कुरा हो ।

सडक सुरक्षाको प्रश्न आज जल्दोबल्दो रुपमा उठेको छ । कमजोर सडकहरुले पनि बढी भारवहन गर्नुपर्ने अवस्थाले दुर्घटनाहरु घटित भइरहेका छन् । कतै अलपत्र अवस्थामा रहेका सडकहरुमा तीव्र गतिका सवारीका कारण त कतै ट्राफिक चिन्हलाई सही ढङ्गले अनुसरण नगरेका कारण दुर्घटनाहरु बढ्न गएका पनि हुन् । सवारी हाँक्ने ड्राइभरको लापरवाही पनि उत्तिकै देखिने गरेको स्थितिमा राज्यको यातायात नीतिसमेत प्रभावकारी नहुँदा दुर्घटनाहरुले बढी प्रश्रय पाइरहेका छन् । अझ त्यसमा पनि सवारी साधनहरुको पछिल्लो अवस्था के–कस्तो छ त्यसको राम्रोसँग जाँच नहुनुले दुर्घटनाहरुलाई बढाइरहेको छ भन्दा अन्यथा हुँदैन । यात्रुदेखि चालक, सडक, सवारी साधनको आयु, नेतादेखि नीतिसम्म सडक दुर्घटनाका कारणमा पर्छन् । आ–आफ्ना ठाउँमा उनीहरू सबै धेरथोर जिम्मेबार भएकाले आफ्नो जिम्मेवारी निर्वाहमा सबै इमानदार हुनु आवश्यक छ । अब पनि सम्बन्धित निकाय दुर्घटना नियन्त्रणमा जिम्मेवार नबन्ने हो भने दुर्घटना आगामी दिनहरुमा अझ चुनौतीपूर्ण हुने निश्चित छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update