Shittalpati
पुष्पलालको स्मरण

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस शनिबार मनाइएको छ । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दै यो दिवस मनाएका हुन् । १५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । प्रवासी जीवनकालमा तत्कालीन राष्ट्रिय काँग्रेसबाट राजनीतिक यात्रा सुरू गरेका उनले करिब दुई वर्ष काँग्रेसको कार्यालय सचिव समेत रहेर काम गरेका थिए । राष्ट्रिय काँग्रेसमा आएको फूटसँगै भारतीय कम्युनिष्ट पार्टीका नेताहरुको संगतले उनले कम्युनिष्ट राजनीति सुरू गरेका थिए । उनी नेपालका प्रथम गणतन्त्रवादी नेता समेत हुन् । सिद्धान्त अनुसारको भौतिक स्थिति होइन, भौतिक स्थितिअनुसारको सिद्धान्त खोज्नुपर्छ, सिद्धान्त, संगठन र संघर्ष आमूल परिवर्तनका कडी हुन् । जनता चेतनशील हुनुपर्छ, कार्यकर्ता संगठित हुनुपर्छ, परिवर्तन अवश्यम्भावी छ, यसलाई संसारका कुनै पनि शक्तिले रोक्न सक्दैनन् भन्ने पुष्पलालको विचार अहिले पनि उत्तिकै महत्वपूर्ण छ ।

नेपाली समाजको पहिलो माक्र्सवादी विश्लेषक पुष्पलालका विचार र आदर्श व्यक्तित्व नेपाली कम्युनिष्ट इतिहासले कहिल्यै पनि बिर्सन सक्दैन । तर पार्टीभित्रको आन्तरिक कलहले पुष्पलालको सैद्धान्तिक, वैचारिक र व्यावहारिक पक्ष भने ओझेलमा परेको छ । यो कम्युनिष्टका लागि ठूलो भूल हो । कम्युनिष्टले पुष्पलालद्वारा प्रतिपादित तीन ‘स’ अर्थात् सिद्धान्त, संगठन र संघर्षलाई आत्मसात् गर्न सकेको छैन । जसको कारण पार्टी नै कमजोर बन्दै गएको छ । पुष्पलालले परिकल्पना गरेको गणतन्त्र अझै प्राप्त भएको छैन । मुलुकमा दलाल पुँजिवादी गणतन्त्र स्थापना भएको छ । यसलाई समाजवादी गणतन्त्रमा डोर्याउनु अहिलेको ऐतिहासिक कार्यभार हो । पुष्पलालले आफ्नो समयका समाज र त्यो समाजले निर्धारण गरेको असमानता माथि प्रश्न गरे । अहिलेको पुस्ता माथि त्यसो गर्न नसकेको आरोप छ । समाजले निर्धारण गरेको मूल्य मान्यता माथि प्रश्न गर्न र आगामी यात्रा आजैको धरातलमा उभिएर तय गर्न इतिहासले अहिलेको पुस्तालाई खवरदारी गरिरहेको छ । यसर्थ पुष्पलाको योगदान र विचारलाई सिर्जनात्मक ढंगले प्रयोग गर्न सके मात्र उनको स्मृति दिवस मनाउनुको औचित्य रहन्छ ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update