Shittalpati
वीपी स्मृति दिवसको औचित्य

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा आज ४० औं वीपी स्मृति दिवस मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन संघर्ष गरेका दूरदर्शी नेता कोइरालाको विसं २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई वीपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ । नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै छन् । नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिने, प्रजातन्त्र, राष्ट्रियता र समाजवादका चिन्तक बहुआयामिक व्यक्तित्व वीपीको विचार आज पर्यन्त उत्तिकै महत्वपूर्ण छ । उनको आदर्श, नैतिक मूल्यमान्यता र निष्ठाको राजनीति गर्दै आएको काँंग्रेसले अहिले त्यो बाटो छोड्दै गएको होकि भन्ने अनुभूति भएको छ ।

आफ्नो सम्पूर्ण जीवनकाल प्रजातन्त्रको लडाइँमा समर्पित गरेका वीपी २०१५ सालको संसदीय आमनिर्वाचनमा दुईतिहाई भन्दा बढी मतले विजयी भएपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका थिए । तर विडम्बना, आफूलाई जनताको सेवक ठान्ने वीपीको समाजवादको आदर्श चिन्तनलाई मुलुकमा प्रजातन्त्र आएको लामो समय हुँदासम्म पनि नेपाली काँग्रेसले साकार पार्न सकेको छैन । वीपी भौतिकरूपमा नरहे पनि समाज परिवर्तनका कयौं आधारभूत पदचिन्ह छोडेर गएका छन् । उनले जन्माएर हुर्काएको नेपाली काँग्रेस आज अलमलमा छ । यस्तो अवस्थामा वीपीको स्मरण हुनु स्वभाविकै हो । प्रजातन्त्र पुनस्र्थापना पश्चात् पटक–पटक सत्तामा गएको काँग्रेसले आफ्नो स्थापनाको बाटो बिर्सिएको आरोप लागिरहेको छ । आज वीपीले ०७ सालमै प्रस्तावित गरेको संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान निर्माणसमेत भइसकेको छ । तर, वीपी मोडलको समाजवाद नेपालमा लागू गर्ने सम्बन्धमा कुनै पनि प्रधानमन्त्रीले चासो नदेखाउनुलाई आफ्नै स्वर्गीय नेता कोइरालाको अपमान भन्न सकिन्छ । एक दिन उनको स्मरणमा दिवस मनाएर वीपीको सम्मान हँुदैन । काँग्रेस र उसका भातृ सस्थाहरुले भाषणबाट होइन व्यवहारबाटै सधैं वीपीको आदर्शलाई अंगीकार गर्न सक्नुपर्छ । यसो गर्न सके मात्र दिवस मनाउनुको औचित्य रहन्छ । अन्यथा दिवस औपचारिकतामा मात्र सिमित बन्न पुग्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update