Shittalpati
महँगी नियन्त्रणमा ध्यान देऊ

नेपाली बजारमा महँगी अचाक्ली रुपमा बढेको छ । दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । अहिले त विश्वबजारमै इन्धन लगायत कतिपय वस्तुको मूल्यवृद्धि भएको छ, जुन नेपाली व्यापारीका निम्ति मौकामा चौका हान्ने राम्रै बहाना बनेको देखिन्छ । खासगरी, खाद्यान्न र तरकारीको मूल्यमा भएको अप्रत्याशित वृद्धिले श्रमजीवी जनताको दैनिकीमा नकारात्मक प्रभाव परेको पाइएको छ । बजार अनुगमन गर्ने अख्तियार पाएका सम्बन्धित निकायले मूल्य नियन्त्रणतर्फ भने खासै चासो देखाएको पाइँदैन । बजारमा मूल्य वृद्धि हुनु नै महँगी बढ्नु हो । सरकार आफैं अर्थतन्त्रप्रति त्यति गम्भीर छैन, त्यसमाथि आमनागरिकको दैनिन्दिन चुलोमा नै नकारात्मक असर पर्ने भएपछि सरकारको असफलता झल्किन्छ ।

मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ सरकार वा सम्बन्धित निकायले कुनै सक्रियता नदेखाउनु आफैमा दुःख र चिन्ताको विषय हो । निश्चय पनि अहिले विश्वबजारमै इन्धन लगायत विभिन्न वस्तुहरूमा अभूतपूर्व मूल्यवृद्धि भैरहेको छ । रुस–युक्रेन युद्व लगायतका कारणले गर्दा भविष्यमा खाद्य संकटसमेत आउन सक्छ कि भन्ने भय सर्वत्र छ । यी दुवै सवालप्रति कतिपय देश चिन्तित देखिन थालिसकेका छन् । तर नेपाल सरकारलाई भने निकट भविष्यको मात्र होइन, अहिले बजारमा अकासिइरहेको महँगीको समेत कत्ति पनि पर्वाह देखिँदैन । कदाचित सरकारलाई यस्तो चिन्ता हुँदो हो त उसले बजार मूल्यलाई स्वाभाविक मात्राभन्दा बाहिर जान नदिन उचित पहल थालिसक्नुपथ्र्याे तर त्यस्तो छैन । बिहान–बेलुकै भान्सामा प्रयोग हुने खाद्यवस्तुदेखि पेट्रोलियम पदार्थसम्ममा भइरहेको मूल्यवृद्धिले सर्वसाधारण नागरिक मारमा छन् । हरवस्तुको मूल्य अचाक्ली हुँदा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्गलाई जीवन धान्न मुस्किल पर्न थालेको छ । यसरी आम नागरिकको भान्सामा महँगी बढ्दै गएका बेला सरकार र सरोकारवाला निकाय मुकदर्शक भएर बस्न कदापि मिल्दैन । यस सम्बन्धमा स्थानीय प्रशासन, स्थानीय,प्रदेश र संघीय सरकारहरुले केही न केही ठोस कदम चाल्न अपरिहार्य छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update