Shittalpati
श्रीलंकाबाट पाठ सिकौं

पछिल्ला केही दिन यता दक्षिण एसियाली मुलुक श्रीलंकामा ठूलो आर्थिक संकट देखापरेको विषयले सर्वत्र चिन्ता र चासो जगाएको छ । विश्वका राष्ट्रहरू कसरी श्रीलंका जसरी टाट उल्टनबाट बच्ने भनेर सोच्न बाध्य भएका छन् । नेपाल त्यसबाट अछुतो हुने कुरै भएन । तर, हाम्रो शासन सत्तामा बसेकाहरूको सोच र व्यवहार दुवै हेर्दा अछुतो भए झै देखिन्छ । उनीहरू श्रीलंका उन्मुख अर्थतन्त्रकाबारे एकरति पनि चिन्तित देखिदैनन् । यो नेपाल र नेपालीका लागि अत्यन्त दुखको कुरा हो । समृद्धिको दिशामा अगाडि बढिरहेको श्रीलंकामा अहिले चरम आर्थिक अभाव सिर्जना भएको छ । खाद्यान्न, औषधी, इन्धन, ग्याँस तथा अन्य अत्यावश्यक सामग्री किन्न पनि श्रीलंका सरकारसँग विदेशी मुद्राको अभावका कारण आमजनता आर्थिक मारमा परेको अवस्था छ । त्यति मात्र होइन सरकारसँग पर्याप्त मात्रामा वैदेशिक मुद्राको सञ्चिति नहुँदा र वैदेशिक ऋणको ब्याज तिर्न नसक्दा ऋण दाताको विश्वास समेत गुमाउनुपरेको छ । विदेशी ऋणको अत्याधिक भार र विदेशी मुद्राको अभावमा श्रीलंका अहिले चरम आर्थिक संकटमा परेको हो ।

दुई दशकदेखि एकछत्र सत्तामा राज गरेको राजपक्ष परिवारकै कारण पनि यो अवस्था आएको हो । यति मात्र होइन जब श्रीलंकामा आर्थिक संकट देखा पर्न थाल्यो तब राष्ट्रपति गोटावाया राजापाक्षे गैरजिम्मेवार रूपमा विदेशतिर पलायन भए । देश र जनताले भोग्न परेको आर्थिक संकटलाई बुद्धिमानी तवरले समाधान गर्नुको साटो उल्टै अभिभाकको रुपमा रहेका राष्ट्रपति विदेश पलायन हुनु भनेको गम्भीर राजनीतिक अपराध हो । कुनै बेला दक्षिण एसियामै सबैभन्दा धेरै प्रतिव्यक्ति आम्दानी भएको मुलुकका रुपमा रहेको श्रीलंका अहिले आर्थिक संकटका कारण स्कुल खोल्न नसक्ने र इन्धन सकिएर गाडी चलाउन रोक लगाउनुपर्ने अवस्थामा पुगेको छ । यस्तो अवस्था किन सिर्जना भयो भन्ने कुरा नेपालले पनि बुझ्न जरुरी छ । यो आर्थिक संकट राजनीतिक अदूरदर्शिता र अक्षमताकै कारण आएको हो । नेपालको पनि मुलुकको वैदेशिक ऋण क्रमशः वृद्धि भइरहेको छ । निर्यात गरेर विदेशी मुद्रा भित्रनुको सट्टा आयातका लागि मुद्रा बाहिरिएको छ । शोधनान्तर स्थिति ऋणात्मक छ । तर, सरकार र राजनीतिक दलहरुको दुर दृष्टि यता छैन् । जसका कारण कतै नेपाल पनि श्रीलंकाको अवस्थामा पुग्ने दिन त आउँदैन ? यो घटनाले सबैमा आशंका उत्पन्न गराएको छ । नेपालमा त्यस्तो अवस्था नआओस् । सरकार, राजनीतिक दल र आमनागरिकले श्रीलंकाबाट पाठ सिक्न सकौं । जसकारण श्रीलंकाको अवस्था भोग्न नपरोस् ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update