Shittalpati
विषादी तरकारी नखुवाऊ

पछिल्लो समय तरकारीमा जथाभावी रुपमा विषादी राख्ने चलन बढ्दै गएको छ । व्यापारका नाममा जनस्वास्थ्यको ख्याल नगरी जथाभावी रुपमा तरकारीमा विषादी राख्ने गरिएको छ । अहिले बजारमा आउने हरेक किसिमका तरकारीहरुमा विषादी भए पनि त्यसको परीक्षण भने हुन सकेको छैन ।

अहिले तानसेन सहित धेरै बजारहरुमा साँझा औषधि राखेर विहानै टिपेर तरकारी बजार ल्याउने गरिएको छ । औषधि राखेको निश्चित समय पछि तरकारी खाना योग्य भए पनि केही उत्पादक कृषकहरुले भने व्यापारका नाममा औषधि राखेको क्षणभरमै विक्री गर्ने गरेको व्यापाक गुनासो आउने गरेको छ । अझ विशेषगरी काँक्राको हकमा यसो गरेको पाइन्छ । साँझा सुई लगाएका काँक्रा अर्को दिन विहानै बजारमा पु¥याइन्छ । न विषादीको परीक्षण हुन्छ नत अनुगमन नै । केही टाठा–बाठा व्यापारिहरुले साना भएका काँक्रा एकाएक सुई लगाएर ठूलो बनाई विक्री गर्ने गरेको गुनासाहरु आए पनि त्यसको नियन्त्रण गर्नेतर्फ जिम्मेवार निकायले चासो देखाएको पाइँदैन । अहिले विभिन्न अस्पतालमा विषादी भएका तरकारी, फलफुलहरुको सेवनका कारण झाडापखाला, टाइफाइड, जन्डिसका बिरामीको संख्या बढेको छ । विषादी खानेकुरा र दूषित पानीकै कारण अधिकांश रोग लाग्ने गर्छ । तर, सरोकारवालाले विषादी भएका खानेकुराहरु निरुत्साहित गर्ने अभियान चलाउन सकेका छैनन् । व्यापार गर्ने कतिपयलाई त आफूले विषादी भएको तरकारी बिक्री गरिरहेको ज्ञान नै हुँदैन । कतिपयले कमाइ हुने नाममा स्वास्थ्यका लागि घातक विषादीको प्रयोग गरेर जथाभावी खानेकुरा बेच्ने प्रवृत्ति पनि छ । जनस्वास्थ्यप्रति सरकारी संवेदनहीनता र जनताको स्वादे जीब्राका कारण आम नागरिकले दिनहुँ तरकारीका रूपमा विषादी खाइरहेका छन् । जनतालाई विष खुवाउनमा तीनै तहका सरकार दोषी देखिन्छन् । जनतालाई विष खान बाध्य बनाएर औषधि उपचारमा खर्च गर्नु मूर्खतापूर्ण अपराध हो । यसर्थ तिनै तहका सरकारले आ–आफ्नो क्षेत्रमा विषादी नियन्त्रण र उपभोक्ता जागरणको अभियान चलाउन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update