Shittalpati
लुतो फाल्ने प्रचलनमा कमी

साउन महिनाको पहिलो दिनलाई लुतो फाल्ने दिन अर्थात् साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । वर्षभरका दिनहरु मध्य आज साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको हुन्छ । बेलुका लुतोफाली धार्मिक महत्वको साथ संक्रान्ति मनाइन्छ । आजका दिन कन्डारक नाम गरेको रात्रिचर राति हिँड्नेको पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ ।

लुतो उधुम चिलाउने चर्मरोग पनि हो । नेपालका पहाडे समुदायबीच ‘लुतो फाल्ने’ चलन चलिआएको छ । खासगरी यो चलन ग्रामीण पहाडी भेगमा अद्यापि छ । लोकोक्ति अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर ‘लुतो लैजा’ भनेर कराउँदै फालिन्थ्यो । अहिले लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि पछिल्लो समय विस्तारै कम हुँदै गएको छ,। नयाँ पुस्ताले त्यसतर्फ खासै चासो नदेखाउँदा यो संस्कृतिमा कमी आएको हो । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन् । नेपाली समाजलाई संकृतिमा धनी भनेर चिनिए पनि पछिल्ला दिनहरुमा संस्कृति नै भुल्दै जानु दुखद् हो । लुतो फाल्नु धार्मिक, सामाजिक र औषधिय रुपमा महत्वपूर्ण समेत मानिन्छ । चाडपर्व र संस्कृति आफैमा नेपाली पहिचान र गहना पनि हुन । यिनीहरुको संरक्षण र प्रवद्र्धनमा सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update