Shittalpati
युवा दक्षता दिवसको सार्थकता

हरेक वर्ष जुलाई १५ तारिखका दिन विश्व युवा दक्षता दिवस मनाउने गरिन्छ । यसवर्ष पनि आज नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि विश्वभरका युवाको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो । तर हरेक वर्ष यो दिवस मनाउने गरिए पनि उद्देश्य अनुरुपको उपलब्धी भने हुन सकेको छैन । अहिले पनि कयौं युवाहरु आर्थिक अभावका कारण विदेशीनुपर्ने अवस्था छ । उनीहरुलाई स्वदेशमै रोकी आयआर्जनमा लगाउन सकिएको छैन । कर्मशील युवाको बढ्दो विदेश जाने संख्यासँगै गाउँबस्तीसमेत युवाविहीन बन्दै गएको छ भने कृषिका लागि उर्वर भूमि मानिएका जमिन समेत बाँझो बन्दै गएका छन् । देशको प्रमुख आर्य स्रोत नै कृषि भएकाले कृषि कर्म गर्ने ऊर्जाशील युवावर्गको कमीले गर्दा बूढाबूढीले सास्ती खेप्नुपरेको अवस्था छ । यि कुरामा दिवसले हेक्का राख्न सकेको छैन ।

विश्वभर दक्ष कामदारको माग बढेको छ तर नेपालमा दक्ष कामदारहरू ज्यादै कम छन् । सो कारणबाट राजनीतिक विकृति भई भ्रष्टाचार झन् बढेको छ । यसलाई सम्बोधन गर्न पनि युवाहरू दक्ष हुनु आवश्यक छ । दक्ष युवाहरू विदेश पलायन नभई देशमै काम गरेमा भ्रष्टाचारलाई समेत न्यूनीकरण गर्न सकिन्छ । युवाहरुलाई दक्ष बनाउन भन्दै हरेक वर्ष ठूलो मात्रमा रकम खर्च गर्ने गरिन्छ । तर त्यो रकमको सोही उपयोग हुन भने सकेको छैन । यो अत्यन्त दुखको कुरा हो । नेपालमा अझै पनि धेरै युवाहरु दक्ष नभएकै कारण बेरोजगार भएर बस्नु परेको छ  । यसलाई दिवसले सम्बोधन भने गर्न सकेको छैन् । दिवस औपचारिकतामा मात्र सिमित बन्न पुग्दा धेरै युवाहरु दक्ष हुनबाट बञ्चित हुनु परेको छ । जसको परिणाम देशले भ्रष्टाचारको बिल्ला भिर्नु परेको छ । यो अत्यन्त लजास्पदको विषय हो । देशका खम्बा युवाहरूलाई दक्ष बनाउनु अहिलेको आवश्यकता हो । यसका लागि समयमै सरकार र सम्बन्धित निकायले ध्यान दिनुको विकल्प छैन । जबसम्म युवा जनशक्तिलाई दक्ष बनाउन सकिदैन तबसम्म हरेक वर्ष विश्व युवा दक्षता दिवस मनाउनुको सार्थकता रहँदैन ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update