Shittalpati
विपद्मा सतर्कता आवश्यक

यति बेला नेपालमा मनसुन सक्रिय भएको छ । बर्खाको मौसम भएकाले पनि मनसुन सक्रिय हुनु स्वाभाविक नै हो । यसलाई अन्यतथा लिनु हुँँदैन । देशका धेरै स्थानमा भीषण वर्षा हुने र केही ठाउँमा भइरहेको मौसमविद्ले बताइरहेका छन् । मौसमको गणितीय पूर्वानुमानको नक्साअनुसार देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । जसका कारण जनजीवनै अस्तव्यस्त पारेको, बाढी, पहिरो र डुबान भएका समाचारहरु आइरहेका छन् । हुन त यो कुनै नौलो होइन, वर्षेनी हुँदै आएको समस्या हो ।

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन निरन्तर पानी पर्ने भनेकाले पनि थप समस्या सिर्जना हुने अनुमान गर्न गाह्रो छैन । त्यसैले सतर्कता आवश्यक छ । गत वर्ष असारको सुरुमै बाढीपहिरोबाट ठूलो मानवीय क्षति भएको थियो । भौतिक क्षतिको त लेखा जोखै भएन । बाढीपहिरोबाट ठूला योजना तहसनहस भएका थिए । त्यस्ता समस्या यस वर्ष पनि नहोलान् भन्ने छैन, सतर्कता र सचेतताको आवश्यकता छ । विपद्बाट सुरक्षित हुन पहिलो त समुदायलाई नै परिचालित गर्नुपर्छ । त्यस कामको नेतृत्व स्थानीय सरकारले गर्नुपर्छ । तर नदीनाला र कमला डाँडापाखा र डरलाग्दा भीरका बस्ती नियन्त्रण र त्यस्ता बस्तीलाई अन्त सार्ने कुनै योजना स्थानीय तहको प्राथमिकतामा देखिँदैनन् । बस्ती नै सुरक्षित स्थानमा लैजाने पहल स्थानीय सरकारले गर्दा त्यसलाई सघाउने प्रमुख दायित्व प्रदेश र संघ सरकारको हो । त्यसतर्फ तीनै तहका सरकार गम्भीर बन्न जरुरी छ । मनसुनले निम्त्याएको बाढी पहिराको जोखिम वर्षे विपद्को रूपमा आँकलन गरिन्छ । पानी परिरहेकाले धरातल भिजेको र बाढी, पहिरो आई धनजनको क्षति हुने देखिएको छ । यस्तो वर्षे विपद्को सामना गर्दै जिउधनको रक्षा गर्ने चुनौती बढेको छ । तसर्थ, वर्षे विपद्बाट धनजनको क्षति न्यूनीकरण गर्न सबै पक्ष सतर्कत रहनुको कुनै विकल्प छैन ।

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update