Shittalpati
दूषित पानी र खाना प्रयोग नगरौं

बर्खा लागेसँगै पानी दूषित हुने गर्दछ । निरन्तर वर्षाका कारण पानीका मुहानमा फोहोर पानी मिसिन गई पानी दूषित हुने गरेको पाइन्छ । दूषित पानी र खानाका कारण विभिन्न किसिमका सरुवा रोगहरु लाग्ने गर्दछ । पछिल्ला केही दिन यता दूषित पानीका कारण काठमाडौंमा हैजाका विरामीहरु देखिएका छन् । यो आफैमा अत्यन्त गम्भीर विषय हो । राजधानी जस्तो ठाउँमा हैजा फैलनु दुखद् हो । संघीय राजधानी जस्तो ठाउँको विजोग यस्तो छ भने अन्य ठाउँमा झन कस्तो होला । काठमाडौंमा फोहोर उठ्न नसक्दा र उक्त फोहोर धाराको पानीमा मिसिन जाँदा हैजाको जीवाणु फैलिएको अनुमान गरिएको छ । यस्तो अवस्था अन्य ठाउँमा पनि नहोला भन्न सकिदैन । दूषित पानी र खानाका कारण हैजा, झाडापखाला जस्ता सरुवा रोगको जोखिम हुने गर्दछ ।

हैजा जस्ता सरुवा रोगहरुबाट जोगिन जथाभावी पानी पिउनु हुँदैन । सकेसम्म उमालेको पानी पिउनुपर्छ । सबै उमेर समूहका व्यक्तिले जुनसुकै माध्यमको पानी भए पनि उमालेर मात्र पिउनुपर्छ, वा उपयुक्त मात्रामा क्लोरिन प्रयोग गरेर त्यसलाई शुद्ध बनाएर मात्र प्रयोग गर्नुपर्छ । यस क्रममा खानेपानीमा मात्र सचेत भएर पुग्दैन, चम्चा–काँटा लगायत खाना खाने भाँडाकुँडादेखि सलाद–फलफूलसम्म धुन पनि स्वच्छ पानीकै प्रयोग गर्नुपर्छ । अन्यथा पानी उमालेर वा स्वच्छ बनाएर पिए पनि अन्य स्रोतबाट हैजा फैलन सक्छ । यस मामिलामा पर्याप्त सावधानी नअपनाइए पानीजन्य अरू संक्रमण फैलने सम्भावना पनि त्यत्तिकै हुन्छ । यसका साथै, सरसफाइमा पर्याप्त ध्यान नपुर्याइएका होटलहरूको खाना खानु हुन्न । खास गरी सडकछेउछाउ बेचिने खानेकुराबाट पनि हैजा फैलिएको देखिएकाले यसतर्फ पनि सबै सावधान रहनुपर्छ । सामान्य नियमको पालना ठीक तरिकाले गरिए मात्र पनि हैजाको आक्रमणबाट बच्न सकिन्छ । भिब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारण फैलिने हैजा होस् वा अन्य संक्रामक रोग, पूर्वसतर्कताका कारण रोकिन्छ । मानिसको समान्य लापरवाहीले गर्दा पनि ठूलो समस्या नित्याउन सक्छ । यसतर्फ सबै सचेत हुनुपर्छ । स्वास्थ्य जस्तो संवेदनशील विषय र त्यसमा पनि दूषित पानी र खानाका कारण हुने सरुवा रोगको नियन्त्रणमा स्थानीय, प्रदेश र संघीय सरकार समेत चनाखो बन्न आवश्यक छ । यस्ता कुराहरुलाई समयमै नियन्त्रण गर्न सकिएन भने अवस्था भयावह हुन सक्छ । तसर्थ दूषित पानी र खानाको प्रयोग नगरौं, आफु स्वस्थ रहौं र अरुलाई पनि स्वस्थ राखौं ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update