Shittalpati
बजेट ल्याउने मात्र होइन, कार्यान्वयन पनि होस्

पाल्पासहित देशभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गरिसकेका छन् । संवैधानिक व्यवस्थाअनुसार असार १० भित्रै स्थानीय तहले बजेट प्रस्तुत गरेका हुन् । देशका केही स्थानीय तहमा भने विवाद र पर्याप्त तयारी नगर्दा निर्धारित समयमै बजेट ल्याउन सकेका छैनन् । समग्रमा अधिकांस स्थानीय तहले बजेट ल्याएका छन् । आर्थिक वर्ष साउन १ देखि लागू हुने भएका कारण सो अवधिसम्म स्थानीय सरकारले बजेट अनुमोदनका लागि पर्याप्त छलफल/अन्तक्र्रिया गर्नुपर्ने हुन्छ । पाल्पाका दश वटै स्थानीय सरकारले समयमै बजेट ल्याएका छन् । गत वर्ष कोरोना महामारीमा बजेट केन्द्रीत गरेका स्थानीय सरकारहरुले यस पटक भने स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासमा नै अधिक बजेट छुट्याएका छन् । समग्रमा बजेट र कार्यक्रम राम्रा छन् । तर कार्यान्वयनका सवालमा भने स्थानीय सरकार कमजोर देखिएका छन् । हरेक वर्ष बजेटमा राम्रा कार्यक्रमहरू समावेश हुने गरे पनि कार्यान्वयन पक्षमा भने स्थानीय सरकार चुकेको देखिन्छ ।

स्थानीय तहमा अझै पनि विकास खर्च नहुने समस्या यथावतै छ । गत वर्ष पनि लक्षित बजेट खर्च हुन सकेन । कति कार्यक्रमहरु त सुरू हुनै सकेनन् । औसतमा गाउँगाउँमा डोजरे विकास, पूर्वाधार निर्माण र पिच गर्नेबाहेक स्थानीय तहमा जनताले अनुभूति गर्ने किसिमका खासै उपलब्धि भएनन् । हामीले के पनि बुझ्नु आवश्यक छ भने परिवर्तन हुनु भनेको बाटो खन्नु र पिच गर्नुमात्र होइन, सार्वजनिक सेवा प्रवाहमा जनताले सुधारको अनुभूति गर्न पाउनु पनि हो । अझ स्थानीय तहमा आर्थिक वर्षको अन्त्यमा मात्र कार्यक्रम सुरु हुने र वर्षान्तमा मात्र पुँजीगत खर्च हुने गरेको स्थिति छ । यसले एकातिर विकास–निर्माणसम्बन्धी लक्ष्यहरू हासिल हुन सकेका छैनन् भने अर्कातिर सरकारप्रति दातृ निकायहरूको विश्वसनीयता कमजोर बनेको छ । बजेट र कार्यक्रम ल्याउनु ठूलो कुरा होइन, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नु महत्वपूर्ण हो । यसर्थ स्थानीय सरकारले प्राथमिकताका आधारमा समुदायको हित हुने र उत्पादनमूलक क्षेत्रमा बजेट कार्यान्वयन गर्नतर्फ सक्रियता देखाउन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update