Shittalpati
लागू पदार्थ दुव्र्यसनी रोकौं

कुनै पनि औषधि वा वस्तुलाई नशाको रूपमा प्रयोग गर्ने प्रचलनलाई लागूपदार्थ दुरुपयोग भनिन्छ । नेपालको सन्दर्भमा लागूपदार्थको दुरुपयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । तर, यसबाट उत्पन्न हुने असर वा विकृतिहरू वर्तमान समयमा ज्यादै देखिएका छन् । गाँजा सेवन यसको ज्वलन्त उदाहरण हो । यसको प्रयोगले नेपालको सहरी तथा ग्रामीण क्षेत्रका सम्पूर्ण तह र वर्गका मानिसलाई नराम्रोसँग गाजेको छ । पश्चिमाहरूको हिप्पी संस्कृतिले हेरोइन, अफिम, चरेस, कोकिनको प्रयोगलाई व्यापक बनाइदिएको छ । यसले नेपाली समाजलाई प्रभावित बनाएको छ । लागूपदार्थको दुरुपयोगले व्यक्तिको जीवन बर्बाद गर्छ नै यसबाहेक परिवार, समाज र देशकै अर्थतन्त्र र संस्कृतिलाई समेत नष्ट पार्दछ ।

लागू औषधको अवैध दुव्र्यसन र तस्करको समस्या नेपाली समाजका लागि चुनौतीपूर्ण बनेको छ । लागू औषधको सेवन नभई दुव्र्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरुपयोग हुनाले जटिल समस्या उत्पन्न गराएको हो । लागू औषधको अवैध दुव्र्यसन र तस्कर रोक्न प्रयासहरु नभएका होइनन् । लागू पदार्थ तथा अवैध तस्करीविरूद्ध नेपालमा हरेक वर्ष आजकै दिन ‘अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरूद्धको दिवस’ मनाउने गरिन्छ । तर त्यो प्रभावकारी बन्न नसक्दा लागूऔषध प्रयोगकर्ता भने दिनहुँजसो बढिरहेका छन् । यो अत्यन्त दुखको कुरा हो । लागूऔषधको कुलतका कारण धेरै अभिभावकहरु पीडित हुनु परेका दृष्टान्त थुप्रै छन् । विडम्बनाको कुरा त के छ भने लागूऔषधको कारोबारमा समाजका रक्षक मानिने सेना तथा प्रहरी नै संलग्न भएका घटना पनि सार्वजनिक हुँदै आएका छन्, जसका कारण यसको कारोबार नियन्त्रणमा चुनौती देखिएको छ । लागू पदार्थ दुव्र्यसनी र अवैध तस्करी बढ्नु भनेको समाज असुरक्षित र अधोगतितिर उन्मुख हुनु हो । नेपालमा डाइजेपाम, नाइट्रोजेपाम, बुफिनर्फिन, फेनारगन, फेन्सिडिल, हिरोइन, चरेस, गाँजाजस्ता लागू पदार्थको सेवन तथा कारोबार गर्नु गैरकानुनी मानिन्छ । यद्यपी यस्ता वस्तुहरुको सहजै विक्री वितरण भइरहँदा समस्या उत्पन्न भएको हो । सुन्दर परिवार र समाज निर्माणका लागि लागू पदार्थ दुव्र्यसनी र अवैध तस्करीका जाँलोलाई तोड्न आवश्यक छ । यसका लागि विभिन्न पेसा र आवरणमा लागू पदार्थको कारोबारी गर्ने व्यक्तिहरुको सूक्ष्म अनुसन्धान गरी नियन्त्रण गर्न जरुरी छ । यसर्थ सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update