Shittalpati
विपद्को पूर्वतयारी गरौं

असार, साउन र भदौ महिना बढी वर्षा हुने समय हो । त्यसैले त यि महिनालाई बर्खाको समय पनि भन्ने गरिन्छ । यस वर्षको बर्खा सुरु भएको छ । बर्खा लाग्नु भनेको पानी पर्न थाल्नु हो । पानी पर्न थालेपछि बर्खे खेतीको काम सुरु हुन्छ । विशेष गरी रोपाइँको चटारोले किसानहरू बेफुर्सदी बन्छन् । मानो छरेर मुरी उब्ज्याउने बेला भएकाले पनि यो समय किसानका लागि अत्यन्त उत्साहको समय पनि हो । तर मनसुन सुरु हुनासाथ बाढी, पहिरो र डुवानले भने पार्नु पीर पार्छ । हर्ष र उल्लासका साथ रोपाइँमा जुट्नुपर्ने किसानहरु बाढी, पहिरो र डुबानको पीरले थर्थरी हुनुपर्ने अवस्था छ । दुई दिन लगातार पानी पर्यो कि बाढी, पहिरो र डुबानको सामना गर्नुपर्छ । किसानका लागि खुसी लिएर आउनुपर्ने मनसुन विस्मात लिएर आउनुले किसानलाई खुसी र उत्साह मिल्दैन । यो दुखद् हो ।

वर्षायाममा सुरु हुन साथ नेपालीले वर्षेनी विपत्तिको सामना गर्नु परिरहेको छ । पहाडी क्षेत्रमा पहिरो गएर दुःख दिने गर्दछ भने तराई क्षेत्रमा डुबानले सताउने गरेको छ । प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन र कुनै स्थान र क्षेत्र तोकेर आउँदैन । यो आकस्मिकता भए पनि थोरै सावधानी अपनाउँदा जीवन जोगाउन सकिन्छ । तर पर्याप्त सावधानी नअपनाउँदा अकालमा जीवन जाने गरेको छ भने करोडौंको भौतिक क्षति हुने गरेको छ । नेपालमा बाढी, पहिरो, आगलागी, हावाहुरी, महामारी, शीतलहर आदि प्रत्येक वर्ष आउँछन् र ठूलो परिमाणको मानवीय, भौतिक एवं अन्य क्षति पुर्याएर जान्छन् । यस्ता प्रकोपबाट बँच्न पर्याप्त सावधानी नअपनाउँदा नै क्षति हुने गरेको छ । वर्षेनी हुने यस्ता विपत्तिबाट पाठ नसिक्नु, पर्याप्त पूर्व तयारी नगर्नु, विपद् सामना गर्न सरकारी संयन्त्र तयारी अवस्थामा नरहनु विडम्बना हो । प्राकृतिक समस्या पूर्व सूचना दिएर आउँदैन भन्ने कुरा सबैलाई थाहा छ । तर यस्ता प्राकृतिक विपत्तिको दीर्घकालीन समाधान नखोजिदा वर्षै पिच्छे एउटै समस्याबाट पीडित हुनुपरेको अवस्था छ । नेपालमा स्थानीय,प्रदेश र संघीय गरी तीन तहका सरकार छन् । तर प्राकृतिक जस्तो विपत्तिबाट आम जनतालाई जोगाउने र भौतिक क्षति कम हुने दिशामा एकरत्ती पनि सोंचेका छैनन् । विपद् जस्तो संवेदनशील विषय सरकारको प्राथमिकतामा पदैन । बर्खाको समयमा कति बेला कहाँ के हुन्छ कसैलाई थाहा हुँदैन । तर विपद् आउनुपूर्व नै विशेष सावधानीका उपायहरु अवलम्बन गर्न सकियो भने केही हदसम्म भएमा पनि क्षति हुनबाट बचाउन त सकिन्छ । त्यसतर्फ सरकार र सम्बन्धित निकायले सोच्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update