Shittalpati
मतगणनाको गति बढाऊ

७ सय ५३ स्थानीय तहमध्ये बुधबार बेलुकासम्म ४ सय ६० भन्दा बढी स्थानीय तहको मतगणना सकिए पनि बाँकीमा अझै पनि मतगणनामा ढिलासुस्ती भइरहेको छ । कतिपय मतगणनास्थलमा एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेट लगाइएको छ । त्यही कारण मतपरिणामहरु पनि मन्द गतिमा सार्वजनिक भइरहेको छ । अहिलेसम्म प्राप्त विवरणमा अनुसार पहाडी तथा हिमाली क्षेत्रका केही पालिकाका मतगणना सम्पन्न भइसके पनि धेरै पालिकामा भने मतगणना जारी छ । मतगणना र परिणाममा ढिलासुस्ती हुन थालेपछि निर्वाचन आयोगको अकर्मण्यताको तीव्र आलोचना र प्रश्न उठ्न थालेको छ । कहिले सकिन्छ गणना ? यो गतिले महिना लाग्छ कि वर्ष ? के गर्दै छ निर्वाचन आयोग ? जस्ता प्रश्नहरु सामाजिक सञ्जालदेखि चियापसलमा देख्न र सुन्न सकिन्छ ।

निर्वाचनको परिणाम सुन्न आतुर रहेका मतदाताहरुलाई आयोगको कछुवा गतिको मतगणनाले पट्यार लगाएको छ । निर्वाचनको परिणाम हेर्न र सुन्न व्यग्र प्रतिक्षामा रहेका आम मतदाताहरुको अपेक्षामा आयोगले पुरै तुषारापात गराइदिएको छ । ढिलाइ र सुस्तताको पनि हद हुन्छ । स्थानीय तह निर्वाचनको परिणाम कुर्दा कुर्दै दल, उम्मेदवार र मतदाता आजित हुँदै छन् । आफूले मत दिएको प्रतिनिधि विजयी भए या भएनन् भन्ने जान्ने हरेकमा व्यग्र इच्छा हुन्छ । अनि दल–उम्मेदवारको राजनीतिक भविष्य जोडिएको हुँदा उनीहरु आत्तिन पुग्छन् नै । चुनावी परिणाम सुन्न जो कोही अधैर्य हुनु अनौठो होइन । जनताले मतपेटीकामा मत व्यक्त गरिसकेपछि छिट्टै परिणाम आओस् भनेर अपेक्षा गर्नु स्वभाविक हो । चुनावी मत परिणाम सुन्न उम्मेदवार–मतदाता आतुर हुन्छन् भन्ने बुझेको निर्वाचन आयोगले मतगणनालाई चुस्त र छिटो बनाउनु पथ्र्यो तर त्यसो हुन सकेन । मतगणना जति लम्बियो विवादका घट्ना बढ्ने, कर्मचारीमा आलस्य बढ्ने जोखिम छ । यसले नागरिकमा चुनावी प्रक्रियामाथि नै वितृष्णा आउने अवस्था देखिएको छ । कर्मचारी कम भएका कारण मतगणनामा ढिलाई भएको हो भने आयोगले छिट्टै सरकारसँग थप कर्मचारी माग गरी मतगणना थलो बढाउँदै छिटो परिणाम घोषणा गर्नेतिर लाग्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update