Shittalpati
दूरसञ्चार दिवसको सार्थकता

आज विश्व दूरसञ्चार दिवस मनाइँदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । दूरसञ्चार भन्नाले एक ठाउँमा रहेको जानकारी, सूचना, सन्देशलाई अर्को टाढाको ठाउँसम्म पु¥याउने कार्य हो । प्राचीन कालमा नेपालका ग्रामीण क्षेत्रमा कटुवाल घोकाएर गाउँका मानिसहरूलाई एक ठाउँमा भेला गराई विभिन्न सूचना र सन्देशहरू धेरै मानिसहरूसम्म पु¥याइन्थ्यो । समयको गतिसँगै प्रविधिमा पनि गतिशिलता आई एकतर्फी सूचना प्रवाह (रेडियो, टेलिभिजन) बाट क्रमशः परिष्कृत हुँदै दुईतर्फी सूचना प्रवाह (टेलिफोन, मोबाइल सेवा) का अतिरिक्त हालमा एसएमएस, टुजी, इन्टरनेट, थ्रीजी, फोरजी, फाइभजी, मोबाइल मनी तथा दूरसञ्चार तथा प्रविधिको उच्चतम विकास र विस्तारले सूचनालाई छिटो, छरितो, सहज बनाई समग्र विश्व नै एउटा सानो गाउँमा रुपान्तरित गरेको छ ।

यो आफैमा सकरात्मक छ । विश्व दूरसञ्चार संगठनले विश्भरिको दूरसञ्चार प्रविधिको नियमन गर्दै विश्व जुनसुकै कुना काप्चामा रहेका नागरिकले पनि दूरसञ्चार सेवाको प्रयोग गर्न पाउनुपर्ने हकका लागि आवाज बुलन्द गर्दै सबै देशहरूले दूरसञ्चार सेवा सञ्चालनका लागि फ्रिक्वेन्सी स्प्रेक्ट्रम प्रयोग गर्न पाउनुपर्ने मान्यताका साथ विभिन्न देशहरू बीचमा आपसी समझदारी कायम गर्न सहयोगीको भूमिका खेल्दै आइरहेको छ । तर विगत दुई वर्षको अवधिमा कोरोनाका कारण अन्य क्षेत्र जस्तै सूचना तथा सञ्चार क्षेत्रमा पनि प्रभावित भयो । मानिसहरुको रोजगार गुमेको छ । अर्थतन्त्र तहसनहस भएको यो अवस्थामा सूचना तथा सञ्चार क्षेत्रलाई तिर्ने करमा समेत असर परेको छ । अहिलेको अवस्थामा टेलिकम सेवा प्रदायकले संस्थाहरुको क्षमतामा ह्रास आई सूचना तथा सञ्चार प्रविधिको क्षेत्र तहसनहस हुने अवस्था सिर्जना भएको छ । यसर्थ समयमै उपयुक्त कदम चाली सूचना तथा सञ्चार प्रविधिमा लगानी बढाए मात्र विश्व दूरसञ्चार दिवस मनाउनुको सार्थकता रहने छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update