Shittalpati
बुद्ध जयन्तीको सन्दर्भ

देशभर आज २५६६ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । भगवान विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप बुद्ध जयन्ती मनाउने गरिन्छ । तर नेपालले विरासतमा पाएर विश्वमै अत्यधिक महत्वमा रहेको शान्तिदूत भगवान् गौतम बुद्धको जन्मथलोबारे जति प्राथमिकता दिन सक्नुपथ्र्यो, त्यस विषयमा पर्याप्त ध्यान पुग्न नसकेको महसुस हुन थालेको छ ।

जसरी ईस्लाम धर्मावलम्बीहरूका लागि मक्का–मदिना र ईसाइ धर्मावम्बीहरूका लागि जेरुसेलाम पवित्र स्थल हो, त्यसरी नै विश्वभरका एक अर्बभन्दा बढी बौद्धमार्गीहरूका लागि गौतम बुद्धको जन्मथलो लुम्बिनी पवित्र आस्थाको थलो हो । तर, हामी माल पाएर पनि चाल नपाएको अवस्थामा छौं । विश्वकै सांस्कृतिक सम्पदाभित्र सूचीकृत बुद्धको जन्मथलो लुम्बिनी नेपाल नै हो भन्ने प्रामाणिक गराउने बहसमै हामी अल्झिएका छौं । त्यति मात्र होइन गौतम बुद्धको उपदेश वा सन्देशको भने कोही कसैले पनि अनुसरण गरेको पाइदैन । जसको परिणमा मुलुकमा सधै अशान्ति, राजनीतिक अस्थितरता सिर्जना हुनेको गरेको छ । यो अत्यन्त दुःखको कुरा हो । आज नेपालीले नेपाल बुद्ध जन्मिएको शान्तिभूमि हो भनेर गर्व गर्ने कुनै ठाउँ छैन । बुद्धले जतिसुकै शान्तिको पाठ पढाएको भए ता पनि त्यसको अनुसरण गर्न नसक्दा नेपालीले युद्धको त्रासदी भोग्नु परेको मात्र हैन अपितु त्यसको मूल्य नराम्रोसँग चुकाउनुपर्ने अवस्थाको सिर्जना भएको छ । अहिले यहाँ हत्या, हिंसा, अराजकता, स–साना कुरामा पनि बन्द र हड्ताल गर्ने प्रवृत्तिको विकास, अपहरण आदि दिनहँु देख्न पाइन्छन् । यो विडम्वनाको कुरा हो । यसो हुनु हुँदैन । बरु गौतम बुद्धले देखाएको सत्मार्गमा सबै लाग्नुपर्छ । बुद्धको उपदेशलाई आत्मसाथ गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुन सक्छ । यसर्थ त्यो दिशामा सबैले सोच्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update