Shittalpati
विकासमा साझा धारणा बनाऊ

सामान्यतयाः कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तन नै विकास हो । विकास समयसँगै रुपान्तरण हँुदै जाने चक्र जस्तै हो । भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, साँस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरू अन्तरनिहित हुन्छ । यसैको सग्लो रूप नै विकास हो । पछिल्लो समय विकास र समृद्धिको कुरा आवश्यकता भन्दा बढी नै भइरहेको पाइन्छ । विकास र समृद्धिलाई जोडेर अमुक ब्याक्तिलाई विकासवादीको बिल्ला समेत भिराइएको छ । हरेक राजनीतिक दलले निर्वाचनको बेला सार्वजनिक गर्ने घोषणापत्रमा देश विकासको सपना पनि बाँडेका हुन्छन् । जब निर्वाचन सम्पन्न हुन्छ तब निर्वाचनको क्रममा जनतासमक्ष गरेका प्रतिवद्धता विस्तारै बिर्सदै जाने नेपालको राजनीतिक संस्कार नै बनेको छ ।

राजनीतिक दलहरु सरकार बाहिर बस्दा विकास भएन भनेर उफ्रिने तर सरकारमा गएपछि देश र जनताको हितभन्दा पनि व्यक्तिगत हित हेर्ने परिपाटीका कारण विकासले गति लिन सकेको छैन । दलहरुबिच साझा धारणा नबन्दासम्म देशमा विकासले गति लिन सक्दैन । यहाँ विकासका नाममा राजनीति हुने गर्दछ । यो आफैमा गलत हो । विकास सबैका लागि आवश्यक छ । यसमा सबै राजनीतिक दलहरुले साझा धारणा बनाएर अगाडि बढ्नुपर्दछ । दलहरुको विचार फरक–फरक भएपनि देश विकासका लागि भने एक हुनुपर्छ । देश बनाउँछु भन्ने दलहरुलाई आपसी समझदारी र साझा धारणा बनाउन कसैले रोकेको छैन । वार्षिक बजेट अन्तर्गत पुँजीगत खर्च समेत लक्ष्यअनुसार हुन नसक्नु राजनीतिक दलहरुमा एकरुपता नहुनु हो । राजनीतिक दलको दोष देखिनु संघीय लोकतान्त्रिक व्यवस्थाको हितमा छैन तर दुर्भाग्य, दोष अन्यत्र सार्न कुनै पात्र देखिंदैन । पाइला–पाइलामा राजनीतिक दल र यसका नेताबाट हुने भ्रष्टाचार, महँगो निर्वाचन पद्धति र दलका नेताहरुको अधिनायकवादी प्रवृत्तिका कारण विकास अवरुद्ध छ । यसो हुनुहुँदैन थियो । विकास अपरिहार्य पक्ष भएकाले सबै मिलेर गर्नुपर्छ । राजनीतिक दलहरुले साझा धारणा बनाएर अगाडि बढ्न सके मात्र विकासले गति लिन सक्छ ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update