Shittalpati
कुशल नेतृत्वको खाँचो

राजनीतिक होस् वा सामाजिक क्षेत्रको विकास गर्न कुशल नेतृत्वको आश्यकता पर्दछ । कुशल नेतृत्वका कारण हरेक क्षेत्रको विकास प्रभावकारी र दीगो बन्न सक्छ । जहाँ कुशल नेतृत्व हुँदैन त्यहाँको विकास पनि दीगो र प्रभावकारी बन्न सक्दैन । नेपालमा प्रसस्त मात्रमा विकासका सम्भावना छन् तर कुशल नेतृत्व नभएका कारण विकासले फड्को मार्न सकेको छैन् । मुलुक हाँक्ने जिम्मेवारीमा रहेका राजनीतिक नेतृत्व नैतिकता इमानदारिता तथा देश र जनताप्रति अलिकति मात्रै माया हुने हो भने पनि यो देशले सजिलैसँग विकासको फड्को मार्न सक्थ्यो तर त्यो हुन सकेको छैन । यहाँको जलस्रोत र प्राकृतिक सम्पदाको प्रचुर प्रयोग गर्न सकिएमा मात्रै पनि मुलुक धेरै माथि पुग्न सक्छ । तर, यसका लागि यहाँका राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व आमूल रूपमा सच्चिनुपर्छ । आमनागरिक समाजका सदस्य पनि सिर्जनशील बन्न सक्नुपर्छ ।

स्थानीय तहमा विवेकपूर्ण तरिकाले नेतृत्व तहमा रहेकाहरुले काम गर्न नसक्दा संघीयता कार्यान्यनको चरणमा नै स्थानीय तहप्रति जनविश्वास घट्दै गएको स्थिति छ । डोजरे विकास, भागवण्डाका कार्यक्रम, लहडका भरमा तय भएका विकासे कार्यक्रम, भ्यु टावरको होडबाजी, जथाभावी कर, जनप्रतिनिधिबीचको द्वन्द्व, चुनावका बेला देखाइएका अति महत्वाकांक्षी सपना, केन्द्रीय कार्यक्रमको अधिकतम् उपयोग गर्न नसक्नु, चुलिँदो आर्थिक अनियमितता, नेतृत्वमा मपाईंत्व, सुविधा भोगी र बदलिँदो जीवनशैली लगायतका कारण शिशु अवस्थामै स्थानीय नेतृत्वप्रति जनविश्वास घट्दै गएको अवस्था छ । यस्तो अवस्था सिर्जना हुनु गलत हो । अहिले मुलुकको आर्थिक परिसूचक नकारात्मक बन्दै जान थालेका छन् । यदि आर्थिक अवस्था यसरी नै नकारात्मक बन्दै जाने हो भने मुलुक असफल राष्ट्र बन्न सक्ने भएकाले विशेषगरी प्रधानमन्त्री, अर्थमन्त्री लगायत अर्थ मन्त्रालयको सिंगो नेतृत्व सचेत र संवेदनशील बन्न जरुरी छ । देशको आर्थिक अवस्थालाई सक्षम, बलियो र दीगो बनाउनका लागि नेतृत्व तहले आफुलाई जिम्मेवार बनाउनै पर्छ । साँच्चै नै मुलुक बनाउने हो भने नेतृत्व तहमा रहेका सबैले कुशलतापूर्व आफ्ना काम र जिम्मेवारीलाई आत्मसाथ गर्न सके मात्र विकासले गति लिन सक्छ अन्यथा विकासबाट सधै पछाडी नै पर्नुपर्ने अवस्था आउन सक्छ । तसर्थ अहिलेको आवश्यकता भनेको कुशल नेतृत्वको नै हो ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update