Shittalpati
कुष्ठ प्रभावितप्रतिको भेदभाव हटाऔं

नेपाल सरकारले सन् २०१० मा नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरे पनि नेपालमा कुष्ठरोगीको संख्या बढ्दो क्रममा छ । यसको नियन्त्रण तथा कम गर्नका लागि १९५४ बाट विश्व कुष्ठरोग दिवस मनाउन थालिएको हो । विश्वबाट कुष्ठरोग निवारण गरी कुष्ठप्रभावितप्रतिको भेदभाव हटाउनुपर्छ भन्नेमा प्रतिबद्ध रहेका अहिंसावादी महामानव महात्मा गान्धीको मृत्यु भएको दिनका दिन नै यो दिवस मनाउने गरिएको छ । आज पनि विश्वभर यो दिवस मानाइदै छ । फ्रान्सका प्रसिद्ध मानवतावादी एमआर फेलोरियोले गान्धीबाट प्रभावित भई उनकै प्रेरणाबाट कुष्ठरोग दिवस मनाउन थालेका थिए ।

यस दिवसको अभियानको उत्प्रेरणाले विश्वभर कुष्ठरोगको निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभावमा केही कमी आएपनि पूर्ण रुपमा हट्न भने सकेको छैनन् । नेपालमा पनि कुष्ठरोग निवारणको घोषणा गरिएको भए पनि निवारणको स्थितिबाट थप न्यूनीकरणतर्फ उन्मुख हुनु तथा कुष्ठरोगको कारण अपांगता, असहाय तथा विपन्न भएकालाई समुचित व्यवस्थापन गर्दै जानु अहिलेको चुनौती बनेको छ । नेपालका १७ जिल्लाबाट अझै यो रोग हट्न सकेको छैन । उदयपुर, रुपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिरहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छ । रोग निवारणमा सरकारले प्राथमिकता नदिँदा संसारकै सबैभन्दा पुरानो मानिएको यो रोगका बिरामी घट्नुको साटो बढिरहेका छन् । यो आफैमा दुःखद् हो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १० हजार जनसंख्यामा एक जना पनि बिरामी नहुनुलाई जनस्वास्थ्य समस्या नभएको मानिन्छ । तर नेपालमा भने कुष्ठ रोगीको संख्या धेरै छ । कुष्ठरोग समयमै पत्ता लगाई उपचार गरेमा कुरूप तथा अङ्गभङ्ग हुनबाट जोगिनुका साथै रोग निको हुनेमा सन्देह छैन । कुष्ठरोग बहु औषधी उपचार विधिबाट निको हुने रोग हो । यसको नियन्त्रण र उल्मूलनतर्फ स्वास्थ्यकर्मी, यससँग सम्बद्ध संघसंस्था, समाजसेवी क्रियाशील रहँदै आए पनि लक्ष्यमा पुग्न अझै धेरै गर्न बाँकी छ । त्यसैले यस रोगलाई हेलचक्राईंको रूपमा नहेरी कार्यक्रम विस्तार गर्दै थप प्रतिफलउन्मुख बनाउन आवश्यक छ । कुष्ठप्रभावित आर्थिक, मानसिक र शारीरिक रूपले अझै पीडित छन् । कुष्ठरोगको न्यूनीकरण तथा प्रभावितप्रतिको भेदभावको अन्त्य आजको आवश्यकता हो । यस्ता विषयलाई समाजमा उजागर गर्नु तथा कुष्ठ प्रभावित व्यक्तिलाई समाजमा आदर, सम्मानका साथ स्थापित गराउनुपर्छ । कुष्ठरोगीलाई कुनै पनि प्रकारका भेदभाव गर्नुहुँदैन । उनीहरूप्रति गरिने भेदभावलाई समाजबाटै हटाई उनीहरुको हकअधिकारको संरक्षण गर्नतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update