Shittalpati
अनिवार्य खोप कार्ड र सतर्कता

दिनहुँ कोरोना संक्रमणको ग्राफ उकालो लागेपछि सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोप कार्ड अनिवार्य गरेको छ । सरकारले आदेश नै जारी गरेर खोप कार्ड साथमा लिएर मात्र सार्वजनिक स्थलमा जान सबैमा अनुरोध गरेको छ । यसलाई सकरात्मक रुपमा लिनुपर्छ । यसले खोप लगाउन अटेरी गर्नेहरूलाई एउटा सीमाभित्र ल्याउन पक्ककै पनि ठूलो टेवा पुग्ने छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले यस्तो निर्णय गरेपछि सबैको ध्यान खोपतिर डोरिएको छ । यसलाई राम्रो पक्षमा रुपमा लिन सकिन्छ । यस्तो निर्णयले ओमिक्रोनको संक्रामक र भयावह अवस्थालाई सबैले महशुस गर्न थालेका छन् । माघ ७ गतेदेखि नै सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्डको अनिवार्यताले सबैलाई सचेत मात्र होइन, व्यवहारतः बाध्य पनि बनाउन पुगेको छ । यसको कार्यान्वयनले समयमै सकारात्मक परिणाम दिने विश्वास सकिन्छ । तर यसो भन्दैमा खोपको व्यवस्थापनमा भने व्यवस्था गर्नु हुँदैन । खोप उपलब्ध नगराउने अनि खोप कार्ड अनिवार्य गराइनुले भने अर्थ राख्दैन । खोप कार्डको अनिवार्यतासँगै खोपको उपलब्धतामा पनि उत्तिकै ध्यान दिनुपर्दछ ।
सरकारले अहिलेसम्म अभाव रहेको खोपको आवश्यक मात्रा समयमै पूरा गर्न सक्नुपर्छ । सहर तथा गाउँगाउँमा खोपको आवश्यक मात्रा समयमै पु¥याउनुपर्छ । किनकि, जनताको ठूलो हिस्सा अझै पनि खोपको सुविधाबाट वञ्चित छ । जनताको स्वास्थ्यका लागि गरिएको यो पहलले सरकारलाई पनि केही कुरामा सतर्क रहन तथा तदारुकताका साथ कदम चाल्न निर्देशन गरेको पक्कै छ । खोप लिनकै लागि दिनहुँ भिडभाड गरेर लाइनमा बस्नुपर्ने बाध्यता र झन्झटको अन्त्य गरिनुपर्छ । यसका लागि सरकारले जनताको घरदैलो नजिक खोप कसरी पु¥याउने भन्ने कुराको पनि हेक्का राख्नुपर्छ । खोपको समान वितरण हुन जरुरी छ । साथै, आमजनताले सही किसिमले मास्क लगाउने, भौतिक दूरी कायम राख्ने, सेनिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने तथा भिडभाड नगर्ने कुरामा संयमता र सतर्कता अपनाउनु उत्तिकै जरुरी छ ।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update