Shittalpati
जोखिमपूर्ण अवस्था

पछिल्ला केही दिन यता कोरोना संक्रमणको दर बढ्दै गएपछि अवस्था जोखिमपूर्ण बन्दै गएको छ । विश्वको जनजीवन र अर्थतन्त्रलाई नै तहसनहस पार्दै तीव्र रुपमा फैलिएको कोभिड–१९ को अर्को लहर पुनः तिव्र गतिमा फैलन थालेपछि स्वास्थ्यविज्ञहरुले संक्रमणको जोखिम उच्च रहेको बताएका छन् । दैनिक १० हजारभन्दा बढी संक्रमित भइरहेका छन् । परीक्षण गर्नेमध्ये ५० प्रतिशतमा कोरोना संक्रमण भेटिन थालेको छ । अबका केही साता निकै जोखिमपूर्ण हुने विज्ञहरूको अनुमान छ । शंकै छैन, यही अवस्थामा संक्रमणको पारो चढ्दै जाने हो भने संक्रमित संख्याले छिट्टै अहिलेसम्मकै उच्चतम विन्दु नाघ्नेछ । तर महामारी रोकथामका निम्ति पर्याप्त तयारी–समय पाएको सरकार भने फेरि पनि व्यवस्थापन कौशलविहीन देखिएको छ । भारतमा संक्रमण व्यापक बनेको करिब दुई सातापछि नेपालमा पनि त्यस्तै प्रवृत्ति देखिने अघिल्ला लहरहरूबाट पुष्टि हुँदासमेत यसपटक पनि सरकार यथोचित सचेत भएको पाइँदैन । भारतीय सीमाबाट नेपाल भित्रिनेका निम्ति ‘होल्डिङ सेल्टर’ निर्माण, ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ जस्ता पक्षमा सरकार चुकेको छ ‘‘कन्ट्याक्ट ट्रेसिङ’ को उपाय त लगभग भुलेजस्तै देखिन्छ’ खोपको गति पनि निकै सुस्त छ ।

अब महामारीबाट बच्न स्वास्थ्य सतर्कता अपनाउने र मापदण्ड लागू गर्नुको विकल्प छैन । छिमेकी भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ व्यापक फैलिँदा सरकारले सीमा नाकामा पर्याप्त चेकजाँच र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्न सकेन । केहीको चेकजाँच गरे पनि अधिकांश त्यसै घर फर्किएका छन् । स–साना नाकामा निर्वाध आवतजावत् भयो । भारतबाट फर्किनेमा कोरोना पोजेटिभ भेटिए पनि सीमा नाकामा होल्डिङको व्यवस्था हुन नसक्नु विडम्बना हो । सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि ‘केही आदेश’ जारी गरे पनि मानिसहरुको भीडभाड घटेको छैन । दुई वर्षदेखि कोरोनाका कारण आर्थिक रूपमा हानि व्यहोरेका सर्वसाधारणका लागि अब घरभित्रै बसेर मुखमा माड लगाउन पनि गाह्रो भइरहेको छ । त्यसैले कोभिडबाट बच्दै दैनिकी चलाउनुपर्ने बाध्यता अर्कोतिर छ । यस्तो बेला काम पर्दा वा अत्यावश्यक कामका लागि मात्र बाहिर निस्कने र सुरक्षित भएर काम फत्ते गर्नेतिर सर्वसाधारणको ध्यान जानैपर्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update