Shittalpati
सरकारको ओमिक्रोन रोक्ने कदम

दक्षिण अफ्रिका, इजरायल, बोत्सवाना, हंकङ, भारत, नेपाल लगायतका केही मुलुकहरुमा कोरोनाको नयाँ प्रजातिका रुपमा ओमिक्रोन भेरियन्ट देखिन थालेपछि अहिले सम्पूर्ण विश्व नै फेरि चिन्तामग्न अवस्थामा पुग्न थालेको छ । अहिले धेरै देशहरुले एक–अर्कासँगको उडानलाई धमाधम प्रतिबन्ध लगाउन थालिसकेका छन् भने कयौं देशहरु फेरि संकटकाल घोषणा गर्ने मनस्थितिमा समेत पुगेको देखिएको छ । हाल विगतकै परिदृश्यहरुको क्रमशः पुनरावृत्ति भइरहेको अवस्थाले आगामी दिनहरु सहज हुन नसक्ने खतरा बढ्न पुगेको छ । नेपालमा पनि दुई जनामा संक्रमण पुष्टि भएपछि चिन्ता व्यक्त गरिएको छ । नेपाल सरकारले पनि त्यसको प्रभाव र संक्रमणबाट बच्न र बचाउन स्वास्थ्य सुरक्षा व्यवस्थापन गर्ने विषयमा चासो भने यस अघि नै देखाएको छ । कोरोना–१९ बाट पाठ सिकेर सरकारले अहिले मूलतः जनताबीच प्रभावकारी हुने विधि र व्यवस्थापनमा जोड दिनु सकारात्मक छ ।

विश्व स्वास्थ्य संगठनले मानव जातिको स्वास्थ्य सुरक्षाका लागि चुनौती बनेर आएको नयाँ उत्परिवर्तनबाट सतर्क हुन विश्वका सबैलाई आह्वान गरिरहेका बेला नेपाल सरकार पनि आफ्ना नागरिकको स्वास्थ्य रक्षाका लागि थप संवेदनशील र जिम्मेवार बन्नुलाई राम्रो मान्नुपर्छ । तर कार्यान्वयन गर्न भने सरकारले आफ्ना कार्यक्रम तथा योजनालाई प्रभावकारी बनाउनुपर्छ । सरकारले अहिले पहिलो प्रयासका रूपमा विदेशबाट नेपालमा आउने यात्रुहरूको व्यवस्थापन वैज्ञानिक र स्वास्थ्यमैत्री बनााउने पहल लिएको छ । मन्त्रिपरिषद्को बैठकले आदेश जारी गर्दै दक्षिण अफ्रिकी मुलुकबाट नेपाल आएका पर्यटक र नेपाली नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइन बस्न निर्देशन गरेको छ । नेपालमा सरुवा रोगको संक्रमणको कुरा चल्नासाथ छिमेकी भारतसँगको खुला सिमानाको स्मरण भइहाल्छ । भारतमा कुनै संक्रमणले प्रवेश पाउनासाथ नेपालीले विशेष सतर्क अपनाउनै पर्छ । यस्तो बेलामा यसको रोकथामका लागि नेपाल सरकारले गरेको पहल आफैमा दूरदर्शी र सराहनीय छ । यसका साथै नेपालको संघीय सरकारले प्रादेशिक तथा स्थानीय सरकारसँग समन्वय गरी अग्रिम सतर्कता र रोकथामका उपायलाई छिटो भन्दा छिटो प्रभावकारी बनाउन जरुरी भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update